थाइल्यान्डको बन्द प्रशिक्षणमा ब्यस्त म्याग्देली चेली

थाइल्यान्डमा बन्द प्रशिक्षणमा ब्यस्त छन् अरुण शाही र कमला पुन । नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र बङ्गलादेशमा हुने एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि थाइल्याण्ड प्रस्थान गरेकी रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीको परिचय विगतका खेलभन्दा फरक छ ।

राष्ट्रिय टोलीको कप्तानको जिम्मेबारीमा रहेकी शाहीलाई ठूला मानिएका प्रतियोगितामा आफ्नो टीमले उत्कृष्ट खेलसँगै खेलाडीकौ हौसला बढाउन ब्यस्त छिन् भने राष्ट्रिय टोलीकै मालिका गाउँपालिका वडा नं ३ रुमकी पुनलाई समेत आफ्नो विगतको उत्कृष्ट खेललाई थप उचाईमा पु¥याउन अभ्यासलाई भरपुर सदुपयोग गरेकी छन् ।विद्यालयस्तरका खेलमा सहभागी भएर जिल्ला हुदै क्षेत्रीय खेलमा उत्कृष्ट खेलबाटै राष्ट्रिय टोलीमा छनौट भएका शाहीले नेपाली महिला टोलीलाई च्याम्पियन बनाउने सपना बोकेकी छन्।

१३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा विगतका बर्षको तुलनामा उत्कृष्ट खेलका लागि आफ्नो नयाँ जिम्मेबारीले थप दबाबको सामाना गर्नुपरेको टोलीकी कप्तान शाहीले बेनीअनलाइनलाई बताईन् । ‘नयाँ जिम्मेबारीसँगै नेपाललाई च्याम्पियन बनाउन निरन्तर प्रशिक्षणमा ब्यस्त छौ,‘यहाँ हामीले केही अभ्यास खेलहरु पनि खेल्छौ’ उनले भनिन् । स्पाइकर (हाल लिफ्टर) अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् ।

त्यसयता, उनी टोलीको नियमित सदस्य छिन् । २०६४ साल देखी विद्यालय उमेरबाटै भलिबल खेलमा प्रवेश गरेकी शाहीले क्षेत्रीयस्तरको खेलमा सहभागि हुदै राष्ट्रिय टोलीमा प्रवेशसँगै भलिबलमा निरन्तर चर्चामा छिन् । बिरेन्द्र शिल्ल खेलमा पोखरामा आयोजित क्षेत्रीय खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेपछि शाहीलाई त्यहाँका भलिबल प्रशिक्षकले आफ्नो नजरमा पारेपछि उनले निरन्तर खेल्ने अवसर पाईन् ।

थाइल्यान्डको बैंककस्थित एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणका साथै सातभन्दा बढी अभ्यास खेलहरूले थप सहज हुने उनको भनाई छ । अलराउण्डर शाही सेटर हुन् । केही समय चोटबाट ग्रस्त भएकी राष्ट्रिय टोलीकी अर्की खेलाडी कमला पुनले समेत उत्कृष्ट खेल देखाउने गरी प्रशिक्षणमा नयाँ शैलीहरु सिक्दैछिन् । नेपाल प्रहरीको महिला भलिबल टोलीमा लिफ्टर समेत रहेकी पुनले अभ्यास खेलबाट अझै सहज भएको बताईन् । उनले अनुभवी प्रशिक्षकबाट प्राप्त सीपलाई नै खेलमा प्रयोग गर्दा अझै राम्रो गर्ने उनले बताईन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको अनुभव रहेकी पुनले विभिन्न उपाधीसँगै सम्मान समेत प्राप्त गरेकी छन् । १८ जना खेलाडी सहभागी रहेको खेलमा नियमित १२ जना खेलाडी छनौट हुनेछन् ।