गरिमाले दोवा गाउँमै पुगेर भत्ता वितरण, ९० बर्ष काटेका बुढापाका मख्ख

अन्नपूर्ण गाउँपालिका– १ दोवा गाउँमै पुगेर गरिमा विकास बैंक पोखरेबगर शाखाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्तालाई गाउँपालिकासँग समन्वय गरी वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिएको हो । ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला लगाएत गरी कुल १ सय ५५ जनालाई कुल १६ लाख ७० हजार भत्ता वितरण गरिएको बैकका शाखा प्रबन्धक श्याम थापाले बताए ।

‘वडा कार्यालयसम्म आएर भत्ता लिन नसक्नेहरुलाई भने घरमै पुगेर भत्ता वितरण गरियो,‘यसअगाडी सचिवले वितरण गर्ने भत्ता बैंकमा रहेको आफ्नै खाताबाट प्राप्त गर्न सफल भएपछि उत्साहित देखिनुहुन्थ्यो’ थापाले भने । उनका अनुसार पोखरेबगर शाखाले आफ्नो सामाजिक उत्तरदाहित्व अन्तरगत वडा तथा अशक्तलाई घरमै पुगेर भत्ता वितरण गर्ने बताए । अन्नपूर्ण गाउँपालिका–१, का वडा अध्यक्ष दिलिप कुमार गर्बुजा, वडा सचिव मनकुमार गर्बुजा,बैंक प्रबन्धक श्याम थापा, कर्मचारी विष्णुप्रसाद रिमालले भत्ता वितरण गरेका थिए ।

सवारीसाधनमा आफन्तको सहारामा बैंकसम्म पुगेर लिनुपर्ने अवस्थामा गाउँमै सामाजिक सुरक्षा भत्ता पाएपछि ९४ बर्षिया कल्छे पूर्जा, ९८ बर्षिया नन्दकला पूर्जा, ९४ बर्षिया मन बहादुर राम्जाली, ९४ बर्षिया बर्निका पूर्जाले खुसी लागेको बताए ।

भत्ता वितरण कार्यक्रममा सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रहरी सहायक निरिक्षक ढक बहादुर हमाल, प्रहरी हवल्दार रामकाजी कुँवर र प्रहरी जवान याम रेग्मीको उपस्थिती थियो । उमेरले ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकलाई क्रमशः मासिक तीनहजार, ६० देखि ७० वर्षसम्मका दलित ज्येष्ठनागरिकलाई दुईहजार, विधुवा र एकल महिलालाई दुईहजार, अपाङ्गता भएका ‘क’ वर्गका व्यक्तिलाई तीनहजार, ‘ख’ वर्गलाई एकहजार छ सय र बालबालिकालाई पोषण भत्तास्वरुप मासिक चारसय रुपैयाँका दरले सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरिएको छ।