गरिमाले गाउँमै पुगेर भत्ता वितरण गर्दा बृद्धबृद्धा फुरूङ्

ओछ्यानबाटै उठ्न मुस्किल हुने मालिका गाउँपालिका–५ देविस्थानका ७७ बर्षिय बले बुढाले गाउँमै सामाजिक सुरक्षा भत्ता पाए । सामाजिक सुरक्षा भत्ता बुझ्न गाउँपालिकाको केन्द्र दरबाङसम्म आउन नसक्ने अवस्थाका बुढाले गाउँमै भत्ता पाएपछि खुसी ब्यक्त गरे । उनीजस्तै वडा नं ६ का ७९ बर्षिय ओमप्रकाश रोका र वडा नं ७ का पलबिर जुग्जालीले घरदैलोमै भत्ता पाएपछि उत्साहित भए ।

परिवारको सहयोगमा यातायातका साधनको प्रयोग गरी दरबाङसम्म आएर प्रचण्ड गर्मीमा दिनभरी लाइनमा बसेर मुस्किलले भत्ता पाउने गरेको अवस्थामा जनप्रतिनिधि सहित कर्मचारीले घरदैलोमै भत्ता वितरण गरेपछि बृद्धबृद्धाले खुसी प्रकट गरेका छन् । वडामै वितरण गर्दा समेत आफन्तको सहयोगमा आएका बृद्धबृद्धाले खुसी हुदै भत्ता लिएका थिए ।

औषधी समेत बोकेर आएका बृद्धबृद्धाले घरदैलोमै भत्ता पाउने कार्यलाई निरन्तरता दिन समेत अनुरोध गरे । ‘बैंकमा जान सकिँदैन, शरीरले हिड्नै मान्दैन्,‘अब तपाईहरूले यसैगरी भत्ता दिनुहोला’ घरमै भत्ता बुझेपछि निस्कोटका ८२ बर्षिय जमान बीर पुनले भने । उनले भित्रबाहिर गर्न समेत गाहे हुने उमेरमा घरमै भत्ता पाएपछि जनप्रतिनिधि र बैंकका कर्मचारीलाई समेत धन्यवाद दिएका थिए । ‘हामी बुढाबुढीलाई गाउँमै आएर दिनुभयो, धेरै खुसी छु’ पुनले भने ।

गरिमा विकास बैंक दरबाङ शाखाले गाउँपालिका भित्रका चारवटा वडामै पुगेर भत्ता वितरण गरेपछि बृद्धबृद्धा मख्ख परेका छन् । बैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत बैंकले निस्कोट, देविस्थान, दरबाङ र बिम गरी चारवटै वडामा पुगेर भत्ता वितरण गरेको शाखा प्रबन्धक नारायणहरी शर्माले बताए ।उहाँहरुको अवस्था देख्दा दुख लाग्यो,‘बृद्धबृद्धालाई शाखासम्म बोलाउनु पाप नै लाग्छ’ शर्माले बेनीअनलाइनलाई भने ।

आफ्नै नेतृत्वमा बैंकबाट चारवटै वडामा पुगेका शर्माले वडा अध्यक्ष सहित जनप्रतिनिधिको सहभागितामा भत्ता वितरण गर्ने क्रममा औषधी बोकेर आएका बृद्धबृद्धाको अवस्थाले आगामी दिनमा वडामै पुग्नुपर्ने बाध्यता भएको बताए । ‘सुतिरहेको अवस्थामा घरमै पुगेर तीनजनालाई भत्ता दिदाँ उहाँहरुमो अनुहारमा देखिएको चमकले भविस्यमा पनि वितरणको जिम्मेबारी थपिएको छ’ उनले भने । भौगोलिक विकटता र शारीरिक समस्याका कारण बैंकमा आएर रकम बुझ्न नसक्ने भएकाले जनप्रतिनिधिले समेत वडामै वितरणमा प्राथमिकता दिएकाले सहज भएको छ ।

गरिमाले वडा नं १ मा ६३ जनालाई ८ लाख ६४ हजार, वडा नं ५ मा २४७ जनालाई २९ लाख ९३ हजार, वडा नं ६ मा ८ लाख ९३ हजार र वडा नं ७ मा १२९ जनालाई १२ लाख २९ हजार गरी कुल ५९ लाख ७० हजार वितरण गरिएको छ । भत्ता वितरण कार्यक्रममा वडा नं १ का अध्यक्ष टंक पुन, वडा ५ का अध्यक्ष पिपला बुढा, वडा नं ६ का अध्यक्ष सन्तनाथ सुबेदी र वडा नं ७ का अध्यक्ष रेशम जुग्जाली रहेको छन् । मालिकामा गरिमासँगै प्रभु बैंकले वडा नं २, ३ र ४ वडामै पुगेर भत्ता वितरण गरेको छ ।