प्रभु बैंकले सिङ्गा र पुलाचौरमा भत्ता वितरण (फोटोफिचर)

बेनी नगरपालिका–४, सिङ्गा र ५ पुलाचौरमा वडा कार्यालयबाट पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बेनी नगरपालिका र प्रभु बैंक बेनी शाखा म्याग्दीबीच आपसी सम्झौता गरी बैंकमार्फत वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिएको हो । सिङ्गाका ज्येष्ठनागरिक, दलित ज्येष्ठनागरिक, एकल महिला, विधुवा, अपाङ्गता भएका व्यक्ति र बालबालिकासहित कुल २ सय ७५ जनालाई २५ लाख ११ हजार दुईसय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रभु बैंक बेनी शाखाले जनाएको छ ।

उनीहरुलाई बेनी नगरपालिका–४, का वडा अध्यक्ष गोविन्द पौडेल, सचिव सकुन्तला अधिकारी, प्रभु बैंक बेनी शाखाका प्रवन्धक लालकुमारी खड्कासहितको टिमले भत्ता वितरण गरेको थियो । यसैगरी पुलाचौरमा पनि ज्येष्ठनागरिक, दलित ज्येष्ठनागरिक, एकल महिला, विधुवा, अपाङ्गता भएका व्यक्ति र बालबालिकासहित कुल ३ सय ६६ जनालाई ३० लाख १२ हजार आठसय रुपैयाँ नगद भत्ता वितरण गरिएको प्रवन्धक खड्काले जानकारी दिएकी छिन् ।

उनीहरुलाई वडा अध्यक्ष लक्ष्मण बानियाँ, सदस्य रामप्रसाद सुवेदी, वडा सचिव कृष्णबहादुर बानियाँ र प्रभु बैंक बेनी शाखाका कर्मचारीले भत्ता वितरण गरेका थिए । शुक्रबार र शनिबार सिङ्गा तथा आइतबार र सोमबार पुलाचौरका नागरिकलाई भत्ता वितरण गरिएको छ । गाउँमै पुगेर वडा कार्यालयमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठनागरिकहरु खुसी भएका छन् । यसैगरी वडा कार्यालयसम्म आएर भत्ता लिन नसक्नेहरुलाई भने घरमै पुगेर भत्ता वितरण गरिने बैंकका बेनी शाखा प्रवन्धक खड्काको भनाइ छ ।

उमेरले ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकलाई क्रमशः मासिक तीनहजार, ६० देखि ७० वर्षसम्मका दलित ज्येष्ठनागरिकलाई दुईहजार, विधुवा र एकल महिलालाई दुईहजार, अपाङ्गता भएका ‘क’ वर्गका व्यक्तिलाई तीनहजार, ‘ख’ वर्गलाई एकहजार छ सय र बालबालिकालाई पोषण भत्तास्वरुप मासिक चारसय रुपैयाँका दरले सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरिएको छ । तत्कालीन २०५१ सालमा निर्वाचित मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारले ज्येष्ठनागरिकलाई मासिक एकसय रुपैयाँ दिने गरी सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रमको सुरुवात गरेको थियो ।