आविष्कार केन्द्रलाई मोना यूकेले ६ लाखभन्दा बढी सहयोग

‘राष्ट्रिय आविष्कार केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले ६ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको केन्द्रलाई यूकेमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था मोनामार्फत काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी ६ लाख ६३ हजार ७४० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

मोना यूकेका अध्यक्ष दल जुग्जाली, मोना यूकेका संस्थापक अध्यक्ष दलमान पुन, कोषाध्यक्ष पदम गर्बुजा, एनआरएनए यूकेका कोषाध्यक्ष एवम् मोना यूकेका मंगला गाउँपालिका सचिव ईन्जिनियर तेजेन्द्र रोकाले आविष्कार केन्द्रका अध्यक्ष पुनलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

मोना यूकेका अध्यक्ष जुग्जालीले मोनामार्फत म्याग्दीमा स्थापनाकालदेखि नै विभिन्न रचनात्मक कार्यहरु गदैं आइरहेको बताए। उनले मोनाले शिक्षा,स्वास्थ्य लगाएत सामाजिक कार्यमा सहयोग गरेको बताए ।सोही अवसरमा केन्द्रका अध्यक्ष पुनले सरकारी दैलोमा धाउँदा पटकपटक आश्वासन बाहेक केही नपाएपछि सर्वसाधारणको सहयोगमा स्थापना गरेको अवस्थामा निरन्तर सहयोग प्राप्त भइरहेको बताए ।

हाल केन्द्रमा ८ करोड रकम सहयोग भएकोमा विश्वभर रहेका म्याग्देलीले समेत संस्थागत तथा ब्यक्तिगत रुपमा ठूलो सहयोग गरेका छन् ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गरेका छन् ।