तिनमानेकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

बेनी नगरपालिका–९ तिनमानेकी एक गर्भवती महिलाको उच्च रक्तचापका कारण हेलिकप्टरबाट उद्धार गरिएको छ । पाँचमहिनाकी गर्भवती सुनिता सुबेदीको प्रभु हेलिकप्टरबाट उद्धार गरिएको हो । बिहिबारदेखि रक्तचापका कारण शुक्रबार विहान सुबेदीलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको हो ।

उच्च रक्तचापका कारण गर्भवती महिलाको अवस्था स्थानीय रामप्रसाद सुबेदीमार्फत सरकारबाट निशुल्क हेलिकप्टरको पहल गरेपनि सफल नभएपछि निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीमार्फत तत्कालै हेलिकप्टर मगाएर उद्धार गरिएको थियो । ‘पाँचमहिनाको गर्भवतीलाई निशुल्क हुदैन भनेपछि शुल्क तिरेरै भएपनि उद्धार गरियो’ एक स्थानीयले भने ।

उनका अनुसार उच्च रक्तचापका कारण स्वास्थ्य जटिल भएको जानकारी लगत्तै घोरेपानी जान लागेको हेलिकप्टरलाई उद्धारका लागि अनुरोध गरेको नारायण जिसीले बताए । ‘उहाँले जानकारी गराएलगत्तै अर्को ठाउँमा जान लागेको हेलिकप्टरलाई उद्धारमा ल्याए,‘खर्च भएपनि ज्यानको सुरक्षा समयमै गर्न सफल भयौं’ जिसीले बेनीअनलाइनलाई भने । उनका अनुसार गर्भवती महिलालाई सडकबाट ल्याउँदा जोखिम हुने भएकाले बेनीमा ल्याण्ड गरेर आफुँले हेलिकप्टरमार्फत तोरिपानीमा पुगेर उद्धार गरिएको बताए ।

छटपटाइकी सुबेदीको समयमै उद्धार गरिएको उनका श्रीमान अर्जुन सुबेदीले बताए। ‘सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद’ उनले भने । नेपाल सरकारले गर्भवती महिलालाई समस्या परेमा तत्कालै हेलिकप्टरमार्फत उद्धार गरिरहेको अवस्थामा निशुल्क उद्धार गर्ने बताएपनि सुबेदीको परिवारले १ लाखभन्दा बढी रकम तिरेर हेलिकप्ष्टरबाट उपचारका लागि काठमाण्डौ लगेका छन् ।