चीन पुगेको नेपाली पालुंगो

 चिनियाँहरू खानाका ठूला पारखी हुन् । उनीहरूको निम्तो मान्नुपर्छ, मीठो खानाको माध्यमबाट पाहुनाको मनसम्म छुने प्रयास गर्छन् भनिन्छ ।त्यसैले त चिनियाँ खाना पूरा विश्वमा लोकप्रिय छ । यिनै मीठा चिनियाँ खानामा प्राय: नछुट्ने एउटा परिकार हो, पालुंगोको साग ।

नेपालीलाई जति यो सागको परिकार मीठो लाग्छ, उत्तिकै चिनियाँलाई पनि लाग्छ । इतिहासले भन्छ, यो पालुंगोको साग नै त्यस्तो परिकार हो, जसले नेपाल र चीनबीचको पुरानो कूटनीतिक सम्बन्धलाई पनि झल्काउँछ ।

 

नेपाल र चीनबीचको सम्बन्ध त निकै पुरानो हो, तर आधिकारिक कूटनीतिक सम्बन्ध सुरु भएको मानिन्छ, सन् ६४७ बाट । त्यतिबेला नेपालबाट एउटा सौगात मिसन चिनियाँ बादशाहको दरबारसम्म पुगेको थियो । त्यसको चार वर्षपछि सन् ६५१ मा फेरि अर्को यस्तै सौगात मिसन तत्कालीन राजा नरेन्द्रदेवको पालामा चीनतर्फ गयो । उनका दूतले चिनियाँ बादशाहको दरबारमा उपहारस्वरूप लगेका थिए, यही पालुंगोको बीउ । त्यसयता पूरा चीनमा पालुंगोको सागलाई मीठो मानेर खान थालियो । ‘चिनियाँले आफ्नो विविध खानाको परिकारमा अहिलेसम्म पनि पालुंगोको सागलाई सकेसम्म छुटाउँदैनन् र मीठो मानेर खान्छन्,’ चीन र चिनियाँ भाषामा राम्रो दख्खल राख्ने चिकित्सक सर्वोत्तम श्रेष्ठले भने ।

अझ सत्यमोहन जोशीले आफ्नो प्रसिद्ध पुस्तक ‘कलाकार अरनिको’ मा केसम्म दाबी गरेका छन् भने आजसम्म पनि जानकार चिनियाँहरू राजा नरेन्द्रदेवका दूतले उपहारस्वरूप चीन पुर्‍याएका नेपाली पालुंगोका बीउहरूको मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । पालुंगोको सागलाई नेपालभाषामा ‘पल:चा’ भनिन्छ र यसलाई चिनियाँले भने ‘प:छा’ अथवा ‘पो:छाइ’ भन्ने गर्छन् । एउटै सागको नाम नेपालभाषा र चिनियाँ भाषामा समानता पाइनुले पनि यो नेपालबाटै चीन पुगेको थप आधार मिल्छ । नेपालबाट चीन पुगेको त्यस पालुंगोको सागबारे नेपाली इतिहासमा कमै लेखिए पनि चिनियाँ स्रोत भने यसमा प्रस्ट देखिन्छ ।

नरेन्द्रदेवको पालामा चीनमा थाङ राजवंश चलिरहेको थियो र त्यहाँको राजधानी अहिलेको सिआन थियो । नेपाली दूत त्यहाँकै बादशाह थाई चुङको राजदरबार पुगेका थिए । ती राजाको समयकाल सन् ५९८–६४९ मानिन्छ । चिनियाँ स्रोतले भने सन् ६४१ मा पालुंगो आफ्नो देशमा पुगेको दाबी गर्छ । थाङ राजवंशपछि चीनमा सुङ परम्परा सुरु हुन्छ । त्यो समयमा इतिहासमा कलम नाम चलाउने एक प्रसिद्ध लेखक थिए, वाङ पो (सन् ९२२–९८२ ) ।

उनैले लेखेको ‘याङ ह्वै याउ’ पुस्तकमा ‘पो:छाइ’ नेपालबाट उपचारस्वरूप प्राप्त भएको उल्लेख गरिएको छ । नेपाली र चिनियाँ स्रोतमा उपहार प्राप्त वर्षको उल्लेख गर्दा भने भिन्नता पाइन्छ । ‘चिनियाँ ऐतिहासिक स्रोतले पालुंगोको साग नेपालबाट उता पुगेको हो भनेर आधिकारिक रूपमा प्रस्ट पार्छ । ती लेखकले पालुंगोका साग पकाएर खाँदा मीठो हुन्छ भनेर पनि लेखेका छन्,’ श्रेष्ठले थपे । उनका अनुसार चिनियाँ बृहत् विश्वकोषको कृषि खण्डमा पनि नेपालबाट आएको पालुंगोको सागबारे उल्लेख छ ।

संयोग कस्तो पनि रह्यो भने नरेन्द्रदेवको पालामा गएको त्यो दोस्रो सौगात मिसनले त्यसयता सात सय वर्षसम्म निरन्तरता पाएन । तर जतिजति बेला नेपाल र चीनबीचको मित्रता तथा सांस्कृतिक सम्बन्धबारे चर्चा हुनेछ, पालुंगोको सागबारे उल्लेख नगरी त्यो पूरा हुने गरेको छैन । चिनियाँ जनकथन के पनि छ भने चीनले पालुंगोको सागको बदलामा नेपाललाई त्यही बेला उपहार पठाएको थियो, आलु, बदाम, लिचीका बीउ । अनि कागज बनाउने प्रविधि पनि । कान्तिपुर दैनिकमा खबर छ ।