एयर चाइनाको त्यो जहाज, जसले अल्मल्यायो…

चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष विमान अपराह्न करिब ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सूचना थियो ।त्यसको डेढ घन्टाअघिदेखि नै अन्तर्राष्ट्रिय विमानस्थलका नियमित उडान ठप्प पारिएको थियो । पोखराबाट आएको यती एयरलाइन्सको वाइटी ६७८ विमान अपराह्न २:१५ मा अवतरण गरेपछि अरू विमानलाई काठमाडौंतर्फ आउन रोकिएको थियो ।

त्यस्तै, सबैभन्दा पछिल्लो उडानका रूपमा ३:०३ मा इन्डिगो एयरलाइन्सको जहाज दिल्लीतर्फ उडेपछि नेपाली आकाश खाली गरिएको थियो । त्यसपछि राष्ट्रपति सीको स्वागतका लागि सडक र विमानस्थलमा उभिएका सर्वसाधारण तथा विशिष्ट व्यक्तिले आकाशतर्फ आँखा नचाइरहेका थिए ।

 

त्यस्तै, मिडियाकर्मीले फ्लाइट ट्र्याकर वेबसाइट नियालिरहेका थिए । करिब ४:०० बजे दक्षिण भारतीय सीमा हुँदै एयर चाइनाको विमान नेपाली आकाशतर्फ प्रवेश गर्‍यो । सो विमान ठीक ४:१५ मा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको मिनेटभित्रै विभिन्न अनलाइनमा समाचार आयो– चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा अवतरण । जब कि, विमानस्थलभित्रै उपस्थित पत्रकारलाई भने सो विमानमा राष्ट्रपति सी नभएको जानकारी आइसकेको थियो ।

चेन्नईबाट आएको जहाज काठमाडौंमा अवतरण गरेकाले सो जहाजमा राष्ट्रपति नै भएको आमबुझाइका आधारमा समाचार बने । तर, बी–२४८२ कलसाइनको विमान अवतरण गरेको आधा घन्टा नाघ्दा पनि राष्ट्रपति झुल्किएनन् । त्यसैले ट्र्याकिङ वेबसाइटमा अर्को जहाजको खोजी हुन थाल्यो । साइटमा कतै पनि जहाज देखिएको थिएन । ४ः४५ मा एयर चाइनाको दोस्रो जहाज अवतरण गर्‍यो । बी–२४७९ विमान अवतरण गरेपछि धेरैले विश्लेषण गरे– राष्ट्रपतिको जहाजले राडारलाई संकेत नपठाई अनौठो अवतरण गर्‍यो ।

तर, विज्ञहरूका अनुसार राडारमा संकेत नपठाई उडान र अवतरण गर्न सम्भवै छैन । विमानस्थलको आधिकारिक राडारसँग दुवै जहाज सम्पर्कमा थिए र नियमित संवाद भइरहेको थियो । ‘दुईवटा जहाज आउने भनेर हामीलाई पूर्वजानकारी आएको थियो, उडानको प्राविधिक पद्धतिअनुसार हामी सम्पर्कमा थियौँ । हाम्रो सम्पर्कमै रहेर दुवै जहाज आएका हुन् । संकेत र सम्पर्कविना कुनै पनि जहाज उडान र अवतरण गर्न सम्भव छैन,’ विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले भने ।

बरु फ्लाइट ट्र्याक गर्ने निजी वेबसाइटमा भिभिआइपी उडानको जानकारी सुरक्षा संवेदनशीलताका कारण नआउन सक्छ । ‘कुनै पनि जहाजले आफ्नो उडानको जानकारी निजी वेबसाइटलाई नदिन सक्छन् । त्यसैले त्यस्ता साइटमा उडान नदेखिन सक्छ । तर, विमानस्थलको राडारलाई पनि सूचना नदिने भन्ने सम्भव छैन,’ विमानस्थलका अर्का एक अधिकारीले भने । नयाँ पत्रिकामा खबर छ ।