बृद्धआश्रममा निःशुल्क भोजनका लागि १ लाख सहयोग

म्याग्दी जिल्लाको मंगला गाउँपालिका–१ कुहुँका एक यूवाले बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिकलाई निःशुल्क भोजनका लागि १ लाख नगद सहयोग गरेका छन् । परिवारका सदस्यले त्यागेपछि अलपत्र परेका बृद्धबृद्धाको आश्रयस्थल तथा गलेश्वर, मुक्तिनाथ मन्दिरको दर्शका लागि आवतजावत गर्ने भक्तजनलाई भोजनमा सहज हुने गरी मोना अन्तराष्ट्रियका सचिव एवम् तृप्ति फाउन्डेशनका अध्यक्ष हरि राम्जालीले शनिबार एक कार्यक्रम गरी पौलत्स्य–पुलह अन्न क्षेत्र विकास समितिलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

आश्रममा आयोजित कार्यक्रममा राम्जालीले आफ्नो छोरी तृप्तिको नाममा स्थापना गरेको फाउण्डेशनले विभिन्न क्षेत्रमा सहयोग गदैं आइरहेको बताए ।‘आश्रममा बस्ने वृद्धवृद्धालाई केही सहज हुने अपेक्षा गरेको छु,‘भविस्यमा पनि फाउण्डेशनमार्फत सहयोग गर्नेछु’ राम्जालीले भने ।

सोही अवसरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले विगतमा गलेश्वर तथा आसपासका गाउँ र भक्तजनबाट संकलन गरिएको दैनिक उपभोग्य बस्तुबाट भोजन गर्ने गरिएपनि पछिल्लो समय विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेपछि सहज भएको बताए ।

सोही अवसरमा रुक राम्जालीले ४ हजार, राजु राम्जाली ४ हजारका साथै राम्जाली परिवारबाट ५ हजार बराबरको खाद्यान्न सहयोग, विहानको भोजनका लागि थप ५ हजार सहयोग समेत गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुन, म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य बाबुराम लगाएतको सहभागिता रहेको थियो । वृद्धाश्रममा करिव ६६ जना ज्येष्ठ नागरिक बस्ने गर्दछन् ।