गूर्जामा प्रतिक्षालय सहित ब्यवस्थित हेलिप्याड बन्ने (फोटो फिचर)

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गूर्जामा नमुना हेलिप्याड बन्ने भएको छ । सडक सञ्जालको पहुँचभन्दा टाढा रहेको गूर्जामा स्थानीय,आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने गरी स्थानीय समाजसेवी याम बहादुर, केआईसिङ, अम्मरबहादुर र दिपबहादुर छन्त्यालले आफ्ना स्वर्गीय पिता हितमानको स्मृतिमा निशुल्क उपलब्ध गराएको जग्गामा निर्मित हेलिप्याड शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

जग्गादाताको बिषेश उपस्थितीमा वडा कार्यालयले आयोजना गरेको सम्मान तथा हस्तान्तरण कार्यक्रममा निर्मित हेलिप्याडलाई थप ब्यवस्थित बनाउँदै जिल्लाकै नमुना बनाउने प्रतिबद्धता समेत ब्यक्त गरिएको छ । नेपाली सेनाको एआई १७ हेलिकप्टर समेत बस्न मिल्ने, प्रतिक्षालय, शौचालय सहित आवश्यक पूर्वाधार सहितको हेलिप्याड बनाउन जग्गादाता अमरबहादुर छन्त्याल सकारात्मक भएपछि स्थानीय उत्साहित भएका छन् ।

वडा अध्यक्ष झकबहादुर छन्त्यालले हेलिप्याडका लागि प्राप्त जग्गाले सहज भएको बताए । उनले गाउँ नजिकै निर्मित हेलिप्याडले सहज भएको बताउँदै थप सहयोगका लागि जग्गादातालाई अनुरोध गरेका थिए ।विगतमा बस्तीबाट टाढा अस्थायी रुपमा हेलिप्याड प्रयोग गर्दा बिरामीलाई समेत समस्या हुने गरेको थियो । सम्मान तथा स्वागत कार्यक्रममा सोही अवसरमा जग्गादाताको तर्फबाट अम्मरबहादुर छन्त्यालले गाउँको विकासका लागि आफ्नो ब्यक्तिगत आवश्यकता प्राथमिकतामा नपर्ने बताए ।

‘सुन्दर गूर्जाका लागि धेरै योजना बनाएको छु,‘मैले गूर्जाको विकासमा तपाईहरुसँगै सहकार्य गर्छु’ छन्त्यालले भने ।उनले स्वास्थ्य, शिक्षा, सामाजिक विकास लगाएतका क्षेत्रमा धेरै काम गर्नुपर्ने बताउँदै गूर्जालाई पर्यटनको क्षेत्रमा उच्च स्थानमा पु¥याउन न्यूनतम पूर्वाधार आवश्यक रहेको बताए ।

उनले गूर्जाबासीको आस्थाको केन्द्र बराह मन्दिर तथा तालका साथै गूर्जाको उच्च भूभागमा अवस्थित ताल, हिमश्रृंखलाको प्रचारप्रसार गदैं भविस्यमा विशिष्ट ब्यक्तित्वलाई समेत गूर्जामा ल्याउने बताए ।

सोही अवसरमा एनआरएनए अमेरिकाको निर्वाचित सदस्य एवम् मोना अन्तराष्ट्रियका उपाध्यक्ष समेत रहेका छन्त्याललाई वडा कार्यालय, आमा समुह र गाउँलेले भब्य सम्मान गरेका थिए । गूर्जामा रहेको जनकल्याण माविलाई आधुनिक शिक्षा सहितको पठनपाठनको योजनालाई समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता सहित विद्यालयलाई २५ हजार र आमा समुहलाई १५ हजार सहयोग गरेका थिए । टोलीमा रहेका धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँ, र दिपबहादुर छन्त्याललाई समेत सम्मान गरिएको थियो ।

हेलिप्याडले स्थानीयलाई सहज
आकस्मिक बिरामी र दुर्घटनाका घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपद्मा आवश्यकता अनुसार राहत उपलब्धका साथै सिजनमा गुर्जा, चुरेन सहितका हिमश्रंखला आरोहणका लागि आउने पर्यटकलाई अवतरणमा सहज भएको छ । गूर्जाबाट सिकिस्त विरामीलाई पैदलयात्राबाट मुना हुदै बेनी ल्याउँदा समस्या हुने भएकाले स्थानीयले महंगो खर्चिएर हेलिकप्टरबाटै पोखरा लैजान्छन् ।

गूर्जामा गतबर्षको असोज र कात्तिम महिनामा मात्रै २५ उडान भएको थियो । गूर्जा हिमाल आरोही दुर्घटनामा परेर ज्यान गएपछि हेलिकप्टर अवतरणमा समस्या भएपछि वडास्तरबाटै पहल भएपछि निशुल्क जग्गा उपलब्ध भएपछि हेलिप्याड निर्माण गरिएको जनकल्याण माविका ब्यवस्थापन समिति अध्यक्ष गुनराम छन्त्यालले बताए ।

गुर्जामा बर्षभरी करिव ५० को हाराहारीमा उडान हुने अनुमान गरिएको छ ।नेपाल सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाईतेमा सहजै उपचारको पहुँच बढाउन सुरू गरेको ’एयर एम्बुलेन्स’ सेवाका लागि समेत सहज छ । गूर्जामा तत्काल छिमेकी वडा लुलाङ तथा बागलुङ जिल्लाबाट सडक सञ्जाल जोडिने सम्भावना छैन् । आन्तरिक सडक सञ्जालको तयारी गरिएपनि गाउँपालिकाको केन्द्र जोड्ने सडकको सम्भावना न्यून भएकाले हेलि सेवा महंगो भएपनि स्थानीयको बाध्यता रहेको छ ।