(फिचर) मुस्ताङ :प्रकृति र अध्यात्मको फ्यूजन

विविधता र सौन्दर्यताले युक्त हिमालपारीको जिल्ला मुस्ताङको इतिहाँस प्रकृति र धार्मिक सम्पदाहरुको मिश्रणले सिंगारिएको छ । प्राचिन कालमा नुन र ऊनको ठाउँ भनेर चिनिने मुस्ताङ अहिले प्राकृतिक सुन्दरता र धार्मिक विश्वासका कारण सुनफल्ने ठाउँको रुपमा विकसित भएको छ ।

प्राचिन समयको एक कालखण्डमा तिव्बतीहरुले शासन गरेको मानिने मुस्ताङको अहिले कायापलट भएको छ । खम्पा विद्रोहदेखि लिएर अहिले चीन र भारतको रणनीतिक दाउपेचको माध्यम बनेको मुस्ताङ सुन्दर प्रकृति र विविधतायुक्त धार्मिक सम्पदाकै कारण विश्वभर चर्चामा छ ।

मुस्ताङ प्रकृतिको सुन्दर रचना हो । प्रकृतिको यही सुन्दर रचनामा धार्मिक सम्पदाहरुको मिश्रण भएपछि पर्यटन व्यवसाय फस्टाउँदै गएको हो । प्राकृतिक दृश्यावलोकन र तीर्थस्थल दर्शनका लागि मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्छन् ।यस अर्थमा मुस्ताङ प्रकृति र अध्यात्मको फ्यूजन रुप हो ।प्राकृतिक तथा धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण स्थलका रूपमा रहेको मुस्ताङ दुई उच्च हिमश्रृङ्खला धौलागिरि र नीलगिरी हिमालको बीचमा अवस्थित छ ।

लामो समय तिब्बतीहरूको शासन रहेको मानिने मुस्ताङमा रीतिरिवाज र धार्मिक संस्कृतिहरू तिब्बतिसंग मिल्दोजुल्दो छ । समयअनुसार फरक स्वरूपमा देखिने मुस्ताङमा माथिल्लो भागहरूमा हिउँ पर्न सुरु गर्दा तल्लो भूभागमा जाडो सुरु भइसकेको हुन्छ । मुस्ताङ नेपाल र तिब्बतमा परापूर्वकालमा व्यापारिक नाकाका रूपमा रहेको थियो । अन्नपूर्ण हिमशृंखलाको उत्तरमा पर्ने भएकाले मुस्ताङमा अन्य ठाउँको तुलनामा कम वर्षा हुने गरेको छ ।

लोभ्याउने प्रकृति र सिकाउने संस्कृति

मुस्ताङको प्रकृति संसारलाई नै लोभ्याउने खालको छ । थुम्का थुम्कामा देवता भेटिने, ढुङ्गा चढाए पाप मेटिने, पानीलाई छोएमात्रै पनि तीर्खा मेटिने,ढुङ्गा ढुङ्गामा देउता भेटिने संसारमा कुनै ठाउँ छ भने त्यो ठाउँ मुस्ताङनै भएको धार्मिक अनुसन्धाताहरुले बताएका छन् ।

मुस्ताङको जल,जमिन र जंगल तिनै चीज मानिसहरुका लागि अत्यन्त उपयोगि भएका मुस्ताङलाई राम्रोसंग चिनेका पं रंगराज शास्त्रीले बताए । थाक समुदायको उदगम स्थलका रूपमा रहेको मुस्ताङको वर्णन सबैले आ–आफ्नो तरिकाले गर्न सक्छन् । हिन्दुहरूको पवित्र स्थलका रूपमा रहेको मुक्तिनाथदेखि प्रसिद्ध दामोदर कुण्ड, कागबेनीलगायतका स्थानहरूको विशेष महत्व छ ।

यहाँको प्रकृतिले नलोभ्याउने संसारका कुनै पनि पर्यटक नभएका मुस्ताङका नरप्रसाद तुलाचनले बताए ।
विविधतामय भूगोल,सेता र शुभ्र हिमश्रृङखला,कलकल बगेको कालीगण्डकी,भेडा,च्याङ्ग्रा,चौंरीगाई र याकको बथान,लहरै लागेर उकाली ओराली चढ्दै र झर्दै गरेका पर्यटकको ताँती,खच्चड र घोडाको बथान,तल्लो भेगमा स्याउ,उवा, साग र आलुको आग्र्यानिक खेती, गुम्वा,पहाडमा खोपिए जस्ता देखिने ओढार आदिले पर्यटकको मन खिच्न सफल भएका स्थानीय व्यवसायी धनवहादुर गौचनले बताए ।

आधुकिताले नछोएको रैथाने संस्कृति

मुस्ताङ अव आधुनिकतातर्फ उन्मूख भैरहेको छ । माटोका घरहरु विस्थापित हुने क्रममा छन् । कंक्रिटका ठूल्ठूला भवनहरु ठडिएका छन् । मुस्ताङीहरुको आर्थिक स्थिति अव काठमाण्डौं,पोखरा लगाएतका ठूला सहरका प्रख्यात व्यापारी व्यावसायीहरुको भन्दा कम छैन । तरपनि मुस्ताङीहरुले आफ्नो परम्परागत संस्कृतिलाई अझैसम्म पनि उस्तै गरी संरक्षण गरेका छन् ।मुस्ताङको उत्तरी भेग तिब्बतियन संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेगमा छिमेकी जिल्लाको पनि केही प्रभाव परेको छ । बौद्ध धर्म बढी मान्ने हुनाले घ्याङ र गुम्बामा पूजाआजा गर्ने लामा, झुमा बस्ने परम्परा कायमै छ ।

छोर्तेन, माने निर्माण गर्ने चलन पनि रहेको छ । घरको र गाउँको रक्षार्थ मूल ढोकामा याक, भेडाको टाउको झुन्ड्याउने, गाउँको वरपर ढुंगाको धार्मिक ग्रन्थका मन्त्रहरू लेख्ने, परम्परागत माने निर्माण गर्ने र हिँड्दाखेरि मानेलाई दाहिने पारेर हिँड्ने चलन रहेको छ ।जिल्लामा बौद्धमार्गीहरू पनि प्रशस्त भएकाले बौद्ध धर्मअनुसार प्रत्येक बौद्ध धर्मावलम्बीहरूले आफ्नो परिवारको माहिलो छोरोलाई लामा र माइली छोरीलाई झुमाका रूपमा गुम्बामा चढाउनुपर्ने अनिवार्य प्रावधान रहेको छ ।

तर, पछिल्लो समय अनिवार्य प्रावधान स्वैच्छिकजस्तै बन्न पुगेको छ । जसका लागि हजारौं श्रद्धालुहरू लामो यात्रा तय गर्दै मुस्ताङ पुग्ने गर्छन् । सांस्कृतिक पहिचानमा अब्बल रहेको मुस्ताङको छिनछिनमै हुने प्रकृतिको परिवर्तित रूप निकै लोभलाग्दो रहने गरेको छ ।

मुस्ताङको नामाकरण
मुस्ताङलाई तिब्बतको एक भागका रूपमा उभ्याइने गरेको जनविश्वास अहिले पनि रहेको छ । मुस्ताङ जिल्लाको नामनै तिब्बती भाषाबाट भएकाले पनि जनविश्वासलाई आधार मान्न सकिन्छ । तिब्बतियन भाषामा मन भनेको औषधि र थाङ भनेको चौरबाट ‘मनथाङ’ औषधि पाउने चौरका रूपमा यसको नाम विस्तार भएको र बिस्तारै ‘मनथाङ’ बाट अपभ्रंश हुँदै मुस्ताङ भएको विश्वास गरिन्छ ।

जडिबुटीको भण्डार हो मुस्ताङ
मुस्ताङ धार्मिक र पर्यटकीय दृष्टिकोणले मात्रै होइन आर्युवेदिक महत्वले पनि निकै सम्भावना रहेको जिल्ला हो । यहाँका पाटनहरुमा बहुमूल्य जडिबुटीहरु पाइने र ती जडिबुटी औषधीय गुणले युक्त रहेका मुस्ताङ भ्रमणमा आएका आयुर्वेदिक चिकित्साका ज्ञाता डा. भूषणराज गौतमले बताए ।

औषधिका लागि अझै पनि मुस्ताङको अधिकांश स्थान चर्चित छन् । विश्मा नै मूल्यवान् मानिने च्याउदेखि ठूला–ठूला पाटनमा यार्सागुम्बा सम्म खोजविहीन गर्ने मानिसहरू अझै पनि लाग्ने गरेका स्थानीय तीर्थ शेरचनले बताए ।
यहाँका जडिबुटीमा मात्रै होइन खाद्यान्नमा समेत औषधीय गुण रहेको जानकारहरु बताउँछन् । फापर,मुस्ताङी रायोको साग,आलु,ओखर,जौ लगाएतका चिजहरु आर्युवेदिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण रहेका डा. गौतमले बताए ।

कायमै छ अझै पनि मुखिया र बहुपति प्रथा
विविधतामय मुस्ताङको पहिचान पर्यटनमा मात्र खुम्च्याइनु मुस्ताङप्रति अन्याय हुने मुस्ताङलाई राम्रोसंग बुझेका व्यक्तिहरुको भनाइ रहेको छ ।नेपालमा भएको परिवर्तित राजनीतिक व्यवस्था भित्र पनि रैथाने अवस्थालाई जोगाउन सक्नु मुस्ताङीहरुको विशेषता भएको जानकारहरु बताउछन् । देशमा नयाँ संविधान आएको छ,कानुनहरु बनेका छन् ।

ती कानुनहरु भित्र मुस्ताङीहरुको पनि आफ्नै कानुन छ । त्यो हो सांस्कृतिक कानुन । मुस्ताङमा अझैपनि मुखिया र बहुपति प्रथा कायमै रहेको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो सत्य हो । मुस्ताङको उपल्लो भेगमा अझैपनि लोपोन्मुख मानिने बहुपति प्रथाको चलन पनि कायम रहेको छ । त्यसैगरी मुखिया प्रथा पनि अझै मानिदै आएको छ ।

मुक्तिनाथलाई उजिल्याउने कालीगण्डकी र कागबेनी
मुक्तिनाथ मुस्ताङको गौरब हो । हिन्दू र बौद्ध समुदायको आस्थाको प्रतिक मानिने मुक्तिनाथ संसारका प्रशिद्ध तीर्थस्थल मध्येको एक हो । मुक्तिनाथको दर्शनका लागि विश्वभरका हिन्दू र वौद्ध समुदायका मानिसहरु आउने गर्दछन् ।
तर,मुक्तिनाथलाई उजिल्याएर संसारभर चिनाउने माध्यम भनेका कालीगण्डकी र कागबेनी हुन् । मुस्ताङलाई मध्यभाग पारेर बग्ने कालीगण्डकीको आफ्नो छुटै विशेषता रहेको छ ।

हिन्दुहरूका लागि नगई नहुने स्थानको रूपमा रहेको मुक्तिनाथ कालीगण्डकीमा दुर्लभ मानिने शालिग्राम पाइने भएकाले त्यसको थप महत्व रहेको छ ।कालीगण्डकी र कागबेनीको संगमस्थल (कागबेनी) मा श्राद्ध गर्नाले पितृहरू मोक्ष हन्छन् भने धार्मिक मान्यता रहेको छ । सोहीअनुसार हरेक दिन कागबेनीमा पितृ कार्य गर्नेको संख्या उल्लेख्य रहने गरेको छ । जिल्लाको जातिगत विविधिताको कारण सामाजिक रीतिरिवाज र प्रचलन भने फरक रहेको छ ।

आधुनिकतातर्फ लम्कदै मुस्ताङी पाइला
परम्परागत जीवन शैली,खानपान र वासस्थानबाट मुस्ताङी पाइला अव आधुनिकतातर्पm अघि बढेका छन् ।
बेनीबाट मुस्ताङ सदरमुकाम जोमसोमसम्म यातायता पहँुच विस्तार भएपछि विकासको काम केही बढेको छ भने स्थानीय स्तरमा उत्पादन हुने स्याउले बजार मूल्य पाएको छ ।बारीमा नै आएर ठेकेदारले बगान बगानै ठेक्का लिँदा मुस्ताङको गरिबी हराएको छ । केही दलित बस्तीहरूलाई तथा विकट क्षेत्रका केही स्थानलाई छोड्ने हो भने दुर्गम भइकन प्रतिव्यक्ति आय उच्च भएको जिल्लामा पर्छ मुस्ताङ ।

भित्रका बाहिर,बाहिरका भित्र

समग्र नेपालमा जस्तै युवा पलायनका समस्या मुस्ताङमा पनि छ । अधिकांश युवाहरू बिदेसिने र शिक्षाका लागि पोखरा, काठमाडौंलगायतका सहरमा स्थानान्तरण हुने क्रम रोकिएको छैन् ।

विकासको क्रम बढेसँगै बाहिरी जिल्लाबाट काम गर्न जाने कामदारहरूको संख्यामा भने पछिल्लो समय वृद्धि भएको छ । यहाँका युवाहरु अध्ययन,व्यापार व्यावसाय र रोजगारीका लागि विदेशदेखि देशका विभिन्न सहरहरुमा गएपनि वाहिरी जिल्लाबाट यहाँ रोजगारीका लागि आउने क्रम शुरु भएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष तुलाचनले बताए । त्यसैगरी थाक संस्कृतिको उद्गमस्थल मानिने मुस्ताङमा अन्य संस्कृति र परम्पराहरूले आफ्नो पहिचान धानेका छन् ।

मुस्ताङ घुम्ने याम
यस्तो विविधतामय प्राकृतिक सुन्दरताले युक्त र आध्यात्मिक महत्वले पूर्ण मुस्ताङ भ्रमणको उपयुक्त समय शुरु भएको छ । जाडोसँगै हिउँ पर्ने सिजन भएकाले पर्यटकहरूका लागि असोजदेखि मंसिरसम्म यात्राका लागि राम्रो मानिन्छ । भने माघ अन्तिमदेखि फागुनबाट पुनः नयाँ सिजन सुरु हुने गर्दछ ।पछिल्लो समय स्याउको मार्फा कोसेलीका रूपमा रहेको छ । उत्पादित स्याउबाट बनाइएको मार्फाले मुस्ताङ जोनमाझ छुट्टै प्रभाव बनाएको छ । समग्रमा मुस्ताङ घुम्न उत्कृष्ट गन्तव्यका रूपमा रहेको छ ।