प्रवासी म्याग्देलीका सामाजिक अभियानमा कुल आचार्यको साथ

म्याग्दीको दुर्गम क्षेत्रका बिरामीलाई स्वास्थ्य केन्द्रमा पु¥याउन एम्बुलेन्स नहुदाँ झेल्नुपरेको समस्यालाई समाधान गर्न मोना यूकेको एम्बुलेन्स च्यारेटी कार्यक्रमलाई ब्यक्तिगत ५० हजार नगद सहयोग गदैं अभियानमा सहयोगको अपिल गर्ने एकजना पात्र तत्कालिन एनआरएनए यूकेका अध्यक्ष कुल आचार्य हुन् ।

दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्यमा सहज पहुँचका लागी प्रवासी म्याग्देलीले सुरु गरेको संस्थागत अभियानको रुपमा समेत चिनिएको एम्बुलेन्स प्रोजेक्टको उद्घाटनमा दरबाङसम्म पुगेका आचार्यले परिवारका सदस्यले त्यागेपछि अलपत्र परेका बृद्धबृद्धालाई गलेश्वरमा आश्रम बनाउन ब्यक्तिगत रुपमा ५ लाख सहयोग गरे । एनआरएनए यूकेको अध्यक्ष हुदाँ आचार्यले नै संकलन गरेको संस्थागतसँगै ब्यक्तिगत रुपमै सहयोग गरी आश्रमभित्र उनकै नाममा कोठाको नामाकरण समेत गरिएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनका लागि आचार्यले ब्यक्तिगत रुपमा २ लाख ५० हजार नगद सहयोग गरे । आचार्यले म्याग्दीकै पुरानो क्याम्पसका लागि थप अभियानमा सहयोगको प्रतिबद्धता समेत जनाए ।प्रवासमा रहेका म्याग्देलीले गरेका अभियानमा आचार्यले ब्यक्तिगत रुपमा धेरै आर्थिक सहित म्याग्देलीको एकता र संस्थागत अभियानका बारेमा खुलेर प्रशंसा गर्ने गरेका छन् ।

एनआरएनए यूरोपको संयोजक हुदाँ समेत आचार्यले विभिन्न देशमा रहेका म्याग्देलीका अभियानमा प्रत्यक्ष रुपमै सहभागी तथा आवश्यक क्षेत्रमा सहयोग समेत गरेको बताए ।‘म्याग्दीबासीको अभियानले मलाई सामाजिक क्षेत्रमा अगाडी बढ्न सहज भएको छ,‘म्याग्दीबासीको सामाजिक अभियानबाट धेरै सिक्न सकिन्छ’ आचार्यले बेनीअनलाइनलाई भने । उनले आफ्नो ब्यक्तिगत सहयोगभन्दा पनि म्याग्देलीका सामाजिक तथा मानवीय सहयोगका अभियानले विश्वभर रहेका म्याग्देलीलाई सन्देश प्रवाह गरेको बताए ।

गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार समेत रहेका आचार्यले आफ्नो उम्मेदवारी संस्थागत विकाससंगै समाजिक अभियानलाई समेत प्राथमिकता दिएकाले म्याग्देलीलाई आफ्नो भिजनमा जोडेर लैजाने बताए । उनले आफुँलाई एनआरएनएको अध्यक्षमा एक कार्यकालका लागि काम गर्ने अवसर दिन समेत अनुरोध गरेका छन् ।

‘विश्वभरका नेपालीको शीर उच्च बनाउने गरी काम गर्छु,‘गैरआवासीय नेपालीको समस्यालाई सहजै समाधान गर्ने गरी संयन्त्र बनाउँछु’ उनले भने । विश्व सम्मेलनका लागि विश्वभरबाट नेपालमा आएका म्याग्देलीलाई समेत छिमेकी जिल्ला पर्वत जलजला गाउँपालिकाको धाईरिङ निवासी आचार्यलाई जिताउने अभियान सुरु भएको छ । एनआरएनएको सचिवमा म्याग्दीकै शिवप्रसाद बरुवाल सहित अध्यक्षमा आचार्यलाई जिताउने अभियानमा म्याग्देली सक्रिय भएका छन् ।