अर्मन किमचौरकी १ महिलामा डेंगु,म्याग्दीमा डेंगु बिरामीको संख्या ९ पुग्यो

म्याग्दीमा थप दुईजना डेंगु संक्रमित फेला परेका छन् । धेरै टाउको दुख्ने, ज्वरो आउन थालेपछि अस्पतालमा भर्ना भएकी मंगला गाउँपालिका ५ अर्मनको किमचौरकी एक महिला र अस्पतालमै एक बिरामीलाई उपचारका लागि सहयोग गर्न गएका बेनीबजारकै एकजनामा डेंगुको संक्रमण भएको पाइएको बेनी अस्पतला विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बेनीअनलाइनलाई बताए ।

‘दुर्गम गाउँमा समेत डेंगुका बिरामी भेटिएका छन्,‘जनचेतनामुलक कार्यहरुलाई तिब्रता दिनुपर्छ’ कटुवालले भने । उनले सबै स्थानीय तहले डेंगु नियन्त्रणका अभियान सहित जनचेतनामुलक गतिविधिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।यसअगाडी भेटिएका डेंगुका बिरामीमा बेनी नगरपालिका वडा नं ५ पुलाचौरका २ जना, रघुगंगा गाउँपालिका ४ दग्नामका १ जना बाहेक सबै बेनीका रहका थिए ।

गाउँमै खेतीपाती गर्ने, सदरमुकाम बेनी लगाएत जिल्ला बाहिर समेत यात्रा नगरेका बिरामी गाउँमा सिकिस्त विरामी भएर उपचारका लागि बेनी अस्पतालमा आउँदा डेंगुको संक्रमण देखिएकाले सहरबजारजस्तै ग्रामिण क्षेत्र समेत डेंगुको जोखिमबाट मुक्त नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले बताए ।

उनका अनुसार जिल्लामा हालसम्म नयाँ संगै ९ जनामा संक्रमण देखिएकोमा पाँचजना जिल्ला बाहिर नगएका ग्रामिण क्षेत्रमा बिरामी रहेको बताए । बेनी अस्पतालमा करिव एकसय जना शंकास्पद बिरामीको रगत परीक्षण गरिएको छ । जटिल अवस्थाका एकजालाई पोखरा समेत रिफर गरिएको छ । ज्वरो आएका बिरामीको सेतो रक्तकोष जाँच गर्दा ४ हजार भन्दा कम र रगत जम्ने पदार्थ प्लेटलेट एक लाख भन्दा कम भएमा त्यस्ता व्यक्तिमा डेंगु हुने सम्भावना रहने चिकित्सकको भनाई छ ।

अस्पतालमा डेंगु परीक्षण गर्ने किट समेत प्रयाप्त नहुदाँ जोखिम अवस्थाका बिरामीलाई मात्रै ल्याव परिक्षण गर्ने गरिन्छ । एडिज एजिप्टी जातको पोथी लामखुट्टेको पहुँच ग्रामिण क्षेत्रमा समेत देखिएकाले सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । डेंगुको भाइरस शरीरमा संक्रमण फैलिएमा उच्च ज्वरो आउनु, टाउको दुख्नु, पेट दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी दुख्नु, जीउ, जोर्नी दुख्नु, उच्च ज्वरो आएको ३,४ दिनपछि रातोरातो बिमिरा आउनु लगायतका लक्षण देखिन्छ ।

जिल्लामा स्वास्थ्य कार्यालय सहित स्थानीय तहले जनचेतनामुलक कार्यक्रम सहित प्रभावकारी योजना बनाउन सरोकारवाला निकाय असफल भएका छन् । सदरमुकाम बेनीमा केही औपचारिक कार्यक्रम गरेपनि जिल्लाका स्थानीय तहमा कार्यक्रमहरु सञ्चालन गरिएको छैन् । लाखमुट्टेले सहरबजारमा रहेका सवारीसाधनका ग्यारेजका टायर, घरको गमला लगाएतको सफा पानीमा लार्भा उत्पादन गर्ने भएकाले त्यसलाई नष्ट गर्नका लागि बिषादी छर्कने र पानी सफा गर्नुपर्ने भएपनि विषाधीको प्रयोगका बारेमा सर्वसाधारण अनविज्ञ छन्।