असिनापानीले बरंजामा लाखौंको सुन्तला नष्ट

म्याग्दीको मंगला गाउँपालिका बरंजामा पानीसँगै परेको असिनाले लाखौं मुल्य बराबरको सुन्तला खेतीमा क्षती पुगेको छ । मंगलबार दिउँसो परेको भीषण बर्षाले बेच्ने बेला सुरु हुन लाग्दा वडा नं ३ र ४ र्भोलेनी, दह, बाउनपधेरा लगाएत दुवै वडाका बस्तीहरुमा करिव १ सय रोपनीमा गरिएको सुन्तला खेती असिनापानीले सखाप पारेको गाउँपालिकाका कृषि शाखा प्रमुख ना.प्र.स तारा बानियाँले बताए ।

‘यसपटक राम्रो फल दिएको थियो,‘असिनापानीले क्षती पुग्यो’ बानियाँले भने । उनले सुन्तलासँगै धानखेती, केरा खेतीमा समेत असर गरेको छ । करिव तीनघण्टा लगातार परेको असिनापानीले खेतबारीमा लगाइएको अन्य अन्नबाली समेत काम नलाग्ने गरी क्षती पुगेको कृषकको भनाई छ । सुन्तलाका अगुवा कृषक ओम गिरी, बोम गिरी, प्रेम गिरी, पूर्ण बहादुर रोका, भरत गिरी, रेबिाना छन्त्याल लगाएतको करिव ७५ रोपनी सुन्तलाको बगैचामा ब्यापक क्षती पुगेको छ ।

अगुवा कृषक धेरैले नोक्सानीका कारण चिन्ता व्यक्त गरेपछि गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको निर्देशनमा क्षतिको विवरण संकलन गरेको छ । धेरै फलेका कारण यसपटक राम्रो आम्दानी हात पर्ने अवस्थामा असिनापानीले क्षती पुगेको कृषक प्रेम गिरीले बताए । ‘बर्षभरीको मेहनत असिनापानीले लग्यो,‘कृषकको क्षेतीको मुल्याङ्कन गरी सम्बन्धित निकायबाट राहतको अपेक्षा गरेका छन्’ गिरीले भने । उनी बरंजामा धेरै सुन्तला उत्पादन गर्ने कृषक हुन् । असिनाले चोट पुर्याएको अन्य सुन्तला समेत बोटमै कुहिने, ओइलिएर झर्ने समस्या हुने कृषकको भनाई छ ।