‘बेलढुंगा म्याराथुन’, उपाधि सुनारले जिते

बागलुङ जिल्लाको काठेखोला ३ धम्जा ओखलेमा आयोजना गरिएको ‘बेलढुंगा म्याराथुन’ प्रतियोगिताको उपाधि गलकोट तोरिखोलाका सुवास सुनारले जितेका छन् ।जनज्योति सामुदायिक विकास केन्द्रले आयोजना गरेको ऐतिहासिक कालरात्री मेलाका अवसरमा सञ्चालित प्रतियोगिताको उपाधि सुनारले जितेका हुन् ।धम्जाको बेलढुंगा होम स्टे गाउँदेखि बेलढुंगाको शिर सम्मको निर्धारित ३६ सय मिटरको दुरी तोरिखोलाका सुवासले २८ मिनेटमा पार गरेका थिए ।

बागलुङ र म्याग्दीका २७ जना युवाले सहभागिता जनाएको प्रतियोगितामा काठेखोला ३ धम्जामा सुजन थापा द्वितिय र दिनेश थापाले तृतिय स्थान हासिल गरेको बेलढुंगा होम स्टे सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताउनुभयो । उपाधि बिजेता पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ६ हजार, ४ हजार र २ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन् । गाउँमा गत बर्षदेखि सञ्चालनमा ल्याइएको होम स्टे र पर्यटकीय क्षेत्र बेलढुंगाको थप प्रचार प्रसार र प्रवद्र्धन गर्ने अभिप्रायले ‘बेलढुंगा म्याराथुन’ आयोजना गरिएको श्रीसको भनाई छ ।

बेलढुंगा बागलुङ काठेखोला ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको सिमानामा अवस्थित छ । यस क्षेत्रको दुवै जिल्लाका स्थानीय तह र वडाले प्रर्वद्धन गर्ने गरि पुर्वाधार र प्रचार प्रसारका काम गरेका छन् ।