१२ सन्तानकी आमा सावित्री थापामगर

जेनिशा पुरी/ बेनी नगरपालिका–२ ज्यामरुककोटका कृष्ण नेपालीले ६ बर्षदेखि सदरमुकाम बेनीमा रहेको बालगृहमा दसैं मनाउँदै आएका छन् । नेपाली जन्मिएको गाउँघरमा दसैंको रौनक छाएपनि उनलाई बालगृह नै घरजस्तै लाग्छ । कलिलै उमेरमा अभिभावक गुमाएपछि बालगृहमा बस्दै आएका नेपालीले चाडपर्व, दशैंतिहारमा घर जाउ भने आफन्त केही छैनन् । विस्तारै उमेर बढ्दै जान थालेपछि चाडपर्वको महत्वका बारेमा जानकारी हुन थालेको उनको भनाई छ ।

बालगृहमै बस्ने धवलागिरी गाउँपालिका–१ गुर्जाका ९ बर्षिय निराजन छन्त्याल साढे एकबर्ष अगाडी बालगृहमा आएका हुन् । उनलाई चाडपर्वको महत्वका बारेमा कुनै पत्तौ छैन् । नयाँ लुगा हातमा परेपछि खुसी भएका छन्त्याललाई न चाडपर्वको महत्व थाहा छ । मंगला गाउँपालिका–२ बावियाचौर सल्यानकी करिना कार्कीर बेनपा–१० की रोजी पौडेलले दर्सैंमा गाउँघरमै रमाइलो हुने बताउँछन् ।

दसैं गाउँमै गएर मनाउने चाहना भएपनि उनीहरुलाई सम्झेर भेट्न आउने मान्छे नै छैनन्।अभिभावको मृत्यु भएपछि बिचल्लीमा परेका बालबालिकाले दसैंमा बालगृहमै नयाँ लुगा, मिठो खाना खाएर मनाउने गरेका छन् । अभिभावकको मृत्यु भएपछि कलिलै उमेरमा बालगृहमा प्रवेश गरेका बालबालिकाको बुबाआमा नै सावित्री थापामगर हुन् ।चाडपर्वका बारेमा आधारभुत तहमा अध्ययरत बालबालिकाले उनीमार्फत नै थाहा पाउँछन् ।

‘दसैंका बारेमा थाहा छैन्,‘आमाबुबा हुनुहुन्न’अन्नपूर्ण गाउँपालिका–३ दानाका रुपेश राम्जालीले भने । रुपेश र रुसन एउटै घरमा दुई दाजुभाई हुन् ।दुईभाई नै बालगृहमा चाडपर्व मनाउँछन् । बालगृहमा रहेका १३ जना बालबालिका मध्ये माध्यामिक तहमा अध्ययरत केहीले दसैंमा आमाबुबाको धेरै याद आउने बताउँछन् ।कलिलै उमेरमा अभिभावकको मृत्यु भएपनि अहिले याद आउने बालबालिकाको भनाई छ ।

बालगृहकी अभिभावक सावित्री थापामगरले चाडपर्वमा आफ्नै सन्तान जस्तै मायाँ गर्ने गरेको बताउँछिन् ।‘मेरै छोराछोरी हुन्,‘उनीहरुलाई मिठो खाना खुवाउने गरेको छु’ थापाले भनिन् । उनले बालगृह ब्यवस्थापनले चाडपर्वमा मासु, लत्ताकपडा उपलब्ध गराउने गरेको बताईन्। ‘अभिभावक गुमाएको पीडालाई बिर्साउने प्रयास गरेको छु,‘चाडपर्वमा आफन्तकोमा जान खोज्छन्’ थापा मगरले भनिन्। आश्रित बालबालिकालाई संघसंस्था र ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने गरिएको छ । दशैंको दिनमा टिका, आर्शिवाद थाप्ने गरेका छन् । बालगृहका अध्यक्ष नेत्र बहादुर महतले बालबालिकालाई चाडपर्वमा घरमा जस्तै सम्पूर्ण सुविधा उपलब्ध रहेको बताए । अभिभावक गुमाएका बालबालिकालाई अभिभावकको कुनै कमी नहुन आवश्यकता अनुसार ब्यवस्था गरिएको छ ।