ताकमकोतमा सर्वाधिक भक्तजन, पूर्वाधार विस्तारले सहज

म्याग्दीको ऐतिहाँसीक स्थल ताकमकोतमा सर्वाधिक भक्तजनले पुजाआजा गरेका छन् । धवलागिरी गाउँपालिका वडा न. ७ मा अवस्थित ताकमकोटमा हरेक वर्षको वडादसैको अघिल्लो दिन महानवमीको दिनमा विभिन्न क्षेत्रबाट करिव ३ हजारको हाराहारीमा भक्तजनले मन्दिरमा पूजाआजा गरेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

ताकमको शीरमा अवस्थित कोतमा पुरातात्विक महत्वका प्राचीन शैली र एतिहासिक महत्वलाई कायम राख्ने गरी मन्दिरको पूननिर्माण सहित पदमार्ग लगाएत ब्यवस्थित पूर्वाधारसँगै भक्तजन ह्वात्तै बढेको मन्दिर पूननिर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए । ‘एकदशक यताकै धेरै भक्तजनको आगमन भएको छ,‘मन्दिरमा टाढाटाढाबाट समेत भक्तजन आएका छन्’ थापाले भने ।

उनका अनुसार धवलागिरी गाउँपालिका बाहेक मालिका, मंगला तथा बेनी नगरपालिकाका साथै देशका विभिन्न जिल्लामा बासोबास गर्ने ताकमबासीले समेत आफ्नो मनोकामना पुरा हुन जनविश्वासका साथ मन्दिरमा आएको बताए । विगतमा आवतजावतमा समेत निकै समस्या हुने गरेको अवस्थामा यसबर्ष प्रवेशद्धारमै ब्यवस्थित पदमार्ग तथा सडक सञ्जालले समेत जोडिएपछि सहज भएको ताकमका यूवा गोपाल आचार्यले बताए । उनका अनुसार मन्दिरमा अहिलेसम्मकै धेरै भक्तजनको आगमन देखिएको बताए । ‘मैले अहिलेसम्म यतिधेरै भक्तजन देखेको थिईन्,‘सडक र पदमार्गले भक्तजनलाई सहज भएको छ’ उनले भने ।

मन्दिरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले ताकमकोतको पूननिर्माणले भक्तजनलाई सहज भएको बताए । त्यस्तै वडा अध्यक्ष कलानिधि शर्माले मन्दिरको प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउने बताए । ताकमकोत, जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको मन्दिरमा धवलागिरी र मालिका गाउँपालिकाबाट बर्षेनी पुजाआजा गर्ने गरिन्छ ।

समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण, दुर्गा, जगन्नाथ देवीदेवताको मुर्ती रहेका कोतमा पुजाआजा र भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वासले बर्षेनी सयौंको संख्यामा भक्तजन आउने गरेका छन् ।

पश्चिम म्याग्दी हुदै ढोरपाटन, रुकुम जिल्लाका साथै धौलागिरी बेसक्याम्प जाने आन्तरिक तथा बाह्य पर्यटकलाई ताकमकोतमा लैजाने सकिने बताइएको थियो । मन्दिरमा नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ। कोत घरमा तोप, खुँडा, खुकुरी, ढाल, तरबार लगाएतका ऐतिहाँसिक महत्वका हतियार, पुराना साम्रागी रहेका छन् ।

कोतमा सुरुङ्गा छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, मन्दिर मुर्ती लगाएत तत्कालिन समयमा दरवारको सुरक्षामा आवश्यक पर्ने गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाह आकारको ढुंगा लगाएत सयौबर्ष पुराना साम्रागी छन् । यसैबीच मन्दिरमा पुगेका भक्तजनले मन्दिरको पूननिर्माणका लागि ४ लाख ७३ हजार ५ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए । स्थानीयको सक्रियतामा करिव १ करोडको लागतमा मन्दिरको पूननिर्माण सहितको संरचना तयार गरिएको थियो ।