करणको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा नेपालको नेदरल्याण्ड्स माथि रोमाञ्चक जित

ओमानमा जारी ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखलामा जितका लागि १ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपाल निकै कठिन परिस्थितिमा पुगिसकेको थियो । सेन स्नेटरले गरेको अन्तिम ओभरमा नेपाललाई १७ रन चाहिएको थियो ।करणले पहिलो बलमै स्नेटरबिरुद्ध बिशाल छक्का प्रहार गरे । दोश्रो बल डट गरेपछि करणले तेश्रो बलमा चौका प्रहार गरे । चौथो बलमा छक्का हिर्काएपछि नेपालले स्कोर बराबरी ग¥यो र पाचौं बलमा एक रन लिदै नेपालको जित सुनिश्चित पारे ।

नेपालले १९ दशमलव पाँच ओभरमा ६ विकेटको क्षतिमा १ सय ३४ रन बनायो । बलिङ्गपनि चार विकेट लिएका म्यान अफ द म्याच करणले १४ बलमा नटआउट ३१ रन बनाए । उनले कुल तीन छकका र एक चौका प्रहार गरे । नेपालले पहिलो विकेट छैटौं ओभरमा गुमाएपनि नेदरल्याण्ड्सले कसिलो बलिङ्ग गर्दै नेपाललाई दवाबमा राखेको थियो । कप्तान पारस खड्काले ३३ रन बनाए भने बिनोद भण्डारीको २६ रनको योगदान पनि महत्वपूर्ण रह्यो ।

यसअघि लेग स्पिनर सन्दिप लामिछाने र करणले उत्कृष्ट बलिङ्ग गरेपछि नेपालले नेदरल्याण्ड्सलाई १ सय ३३ रनमै रोकेको थियो । करण र सन्दिपले कसिलो बलिङ्ग गर्दै ४–४ विकेट लिएपछि नेदरल्याण्ड्स १९ दशमलव तीन ओभरमा १ सय ३३ रनमा अल आउट हुन पग्यो ।

एक समय नेदरल्याण्ड्सले ९ रन प्रति ओभरमा रन बटुलिरहेको थियो । तर नेपालले बलिङ्गमा उत्कृष्ट प्रदर्शन गर्न पुग्यो । करणले शनिबार भएको हङ्गकङ्गबिरुद्धको खेलमा पनि चार विकेट लिएका थिए । लेग स्पिनर सन्दिपले आफ्नो अन्तिम ओभरमा दुई विकेट लिए ।

सन्दिपले खतरनाक साबित हुन सक्ने रुलोफ भान डर मर्व र सेन स्नेटरलाई एकै ओभरमा पेभिलियन पठाए । सन्दिपले लामो समय टिकेर बसेका ओपनर म्याक्स ओ डाउडलाई पनि आउट गरेका थिए । ओ डाउडले ४४ बलमा ४३ रन बनाए । उनले चार चौका प्रहार गरे । सन्दिपले चार ओभरमा २० रनमात्र दिए भने करणले तीन दशमलव चार ओभरमा मात्र १७ रन खर्चेका थिए । Source:cricketingnepal.com.np