बहराइनको जेलमा परेका दिलिपको परिवारलाई सहयोग

बहराइनको जेलमा अर्काको दोषमा जेल सजाय काटिरहेका बेनी नगरपालिका–३ भकिम्ली खाराका दिलिप परियारको परिवारलाई आर्थिक सहयोग गरिएको छ । घरको आर्थिक अवस्था दयनीय भएकाले सातबर्ष अगाडी बहराइनमा पुगेका परियारलाई विदेशी यूवतीलाई कुटपिट गरेको अभियोगमा १५ बर्षे जेल सजाय तोकिएपछि विचल्लीमा परेका परिवारलाई दशैतिहारको खर्च तथा लत्ताकपडा सहयोग गरिएको छ ।

साउदी अरवबाट आएका भकिम्लीका अनप्रसाद श्रेष्ठको पहलमा फिप्को कम्पनीमा कार्यरत नेपालीबाट संकलन गरेको २४ हजार ९ सय र अनप्रसादले ७ हजार २२० सहित दिलिपका छोराछोरीलाई दुई जोड लत्ता कपडा हस्तान्तरण गरेका छन् । वडा सदस्य रत्नबहादुर जिसी सहितको उपस्थिीतमा सहयोग हस्तान्तरण गरिएको स्थानीय डेकबहादुर घर्तीले बताए ।

‘सानो सहयोगले चाडपर्वमा सहज हुने अपेक्षा गरेको छु,‘घरफिर्तीको पहललाई सरकारले चासो देखाउनुपर्छ’ सहयोगदाता अनप्रसादले भने ।ऋणधन गरेर बहराइनमा पुगेको दुईबर्षमै जेलमा परेका थिए । सहयोग बुझ्दै दिलिपका परिवारले विहानबेलुकी हातमुख जोड्न समेत मुस्किल भइरहेको अवस्थामा सहज भएको बताएका छन् ।

कमाउने छोरा जेलमा परेपछि शिक्षादिक्षा सहित हातमुख जोड्न सकस भइरहेको अवस्थामा छोरालाई घर फर्किने बातावरण बनाउन समेत अपिल गरेका छन् । कम्पनीबाट कोठामा फर्किने बेलामा आफुँसंगै रहेको एक इन्डोनिसियाकी एक यूवतीलाई उनका पूर्वप्रेमीले कुटपिट गरेर फरार भएपछि बहराइनको भाषा नबुझ्दा बिनाकारण जेलमा परेको त्यहाँ कार्यरत म्याग्देलीले जनाएका छन् । बहराइनको आश्री जेलमा १५ बर्षे सजाय भोगिरहेका छन् ।

घाईते अवस्थामा उद्धार गरिएकी यूवती २० दिन अस्पतालमा उपचार गरी घर फर्किएपनि विना आधारमा भाषाको ज्ञान नहुदाँ अदालतबाट १५ बर्षको सजाय तोकिएको भन्दै सरकारले पहल गरेमा सहज हुने बताइएको छ ।दिलिपको परिवारमा आमाबुबा, श्रीमति र दुई छोराछोरी छन् ।गाउँमै रहेको बालप्रिय शारदा आधराभुत विद्यालयमा छोराले कक्षा ५ र छोरीले कक्षा ३ मा अध्ययरत छन् ।

जेलमा कसरी परे दिलिप 

बहराइनको एक कम्पनीमा कार्यरत दिलिपले चिनजान गरेकी एक इन्डोनेशियाकी यूवतीला्ई बङ्गाली यूवाले पन्छाउने गरेको अवस्थामा यूवतीले आफुँलाई सुरक्षित राख्न कम्पनीबाट फर्किने बेलामा दिलिपको सहयोग लिने गरेकी थिईन् ।इन्डोनिशियाली केटीकी पूर्वप्रेमी रहेको बताउँदै दिलिपले बाटोमा हिडिरहेको अवस्थामा कुटपिट गरी भागेपछि प्रहरीले यूवतीलाई घाईते अवस्थामा भेटेपछि उद्धार गरी अस्पतालमा भर्ना गरेका थिए ।

अस्पतालमा यूवतीको मोवाइलमा आफ्नो नम्बर भेटिएपछि कम्पनीमै कार्यरत रहेको अवस्थामा खोजीकार्य गरी पक्राउ गरिएको दिलिपको भनाई छ । उनले प्रहरीले अनुसन्धानको क्रममा बहराइनी भाषाको प्रयोग गरेपछि आफुँलाई जानकारी नहुदाँ टाउको हल्लाएरर हल्का अंग्रेजीमा जवाफ दिदाँ फसेको त्यहाँ रहेका म्याग्देली गुनासो गरेका थिए । उनले अस्पतालमा उपचार गरी यूवती घर फर्किएपनि आफुँलाई जेलमा हालिएको बताए ।