३० लाख क्षतीपूर्ति तिर्न नसक्दा ६ बर्षदेखि साउदी जेलमा

साउदी अरबको जेलमा ६ बर्षदेखि सजाय काटिरहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्ती अभियान सुरू गरिएको छ । कम्पनीमा कार्यरत साथीहरूको भगडा मिलाउन खोज्दा गम्भीर घाईते भएका एक नेपालीको उपचारको क्रममा ज्यान गएपछि विगत ६ बर्षदेखि जेलभित्र रहेको निउरेलाई दिच्यामबासीको पहलमा घरफिर्ती अभियान सुरू गरिएको हो।

मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) रकम उपलब्ध गराउन नसक्दा सजायको कैद भुक्तान गरेपनि १ बर्षदेखि जेलमै छन् । गम्भीर घाईते वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेपछि अदालतमा भाषाको समस्याका कारण न्यायाधीशको जवाफ दिन नसक्दा दोषी ठहर भएको पाँचबर्षपछि परिवारलाई जानकारी भएको थियो ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेको निउरेका परिवारले क्षर्तीपूर्ती रकम जुटाउन नसकेपछि घर फिर्तीको प्रक्रिया अनिश्चित भएको छ । मृतकका परिवारले सुरुवातमा ६० लाख माग गरेपनि ३० लाख उपलब्ध गराउने सहमति भएको अवस्थामा निउरेलाई जेलमुक्त गर्न ३० लाख आवश्यक रहेको मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् । उनका अनुसार परिवारबाट आर्थिक जुटाउनै मुस्किल रहेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट निउरेको जीवन रक्षाका लागि उक्त रकम जुटाउन अभियान सुरु भएको बताईन् ।

साउदी अरबमा मृतकको परिवारलाई क्षतीपूर्ति रकम उपलब्ध गराएमा जेलबाट मुक्त हुन सक्ने ब्यवस्था रहेको छ । हाल निउरेलाई घर फिर्ती अभियान सञ्चालन गर्न सामाजिक सञ्जालमा अभियानले तिब्रता पाएको छ । निउरेका भिनाजुको नाममा सिद्धार्थ बैंकमा जम्मा गर्न मिल्ने गरी खाता सञ्चालन गरिएको छ । मृतकका परिवारसँगको सहमति अनुसार ३० लाख उपलब्ध गराएको प्रमाण सहित साउदीमा कागजात पेश गरे उनलाई घर फर्किन सहज हुन्छ । साउदीमा ब्लड मनी (क्षतीपूर्ति) लाई पीडित पक्षको पहिलो अधिकारको रुपमा ब्याख्या गर्ने गरिन्छ ।

उक्त रकम उपलब्ध गराउन नसके जीवनभर जेलमै बस्नुपर्छ । पीडित पक्षको सहमति अनुसारको रकम उपलब्ध गराएमा निउरेलाई जेलमुक्त गर्न सकिने साउदीको कानुन छ । मृत्युदण्डको सजाय पाएकाले समेत ब्लड मनी (क्षतीपूर्ति) उपलब्ध गराए सजाय मिनाह हुने प्रावधान रहेको साउदीमा निउरेलाई तोकिएको सजाय भुक्तान भइसकेको अवस्थामा सहयोग जुटाउन सकेमा घर फिर्ती सहज हुने भएकाले आर्थिक सहयोग संकलन गरी अभियानमा जुट्ने दिच्यामबासीले प्रयास गरेका छन् ।
आर्थिक सहयोगका लागि
सिद्धार्थ बैंक बेनी शाखा
खातावालाको नामः तमबहादुर खत्री
खाता नं : ०३५१५०४०५४१