हिमाली च्याङ्ग्राको स्वादिष्ट सुकुटी : प्रदेशीलाई कोशेली र मदिरालाई सितन (फोटो फिचर)

दशैंको समय छ । घरघरमा मासुका विभिन्न परिकारहरु पाकीरहेका छन् । साकाहारीहरु पनिर,चिज,टुसा लगाएतका चिजहरुको खोजीमा छन् भने मांसहारीहरु च्याङ्ग्रा,चेलु,खसी,बोकाको जोहो गरी शिकार बनाइ खाइरहेका छन् ।
मासुको विभिन्न परिकारहरुमध्ये सुकुटी पनि स्वादिष्ट परिकार हो ।

त्यसमा पनि हिमाली जडिबुटी खाएका मुस्ताङ्गी च्याङ्ग्राको सुकुटीको माग नेपाली बजारमा मात्रै होइन संसारका विभिन्न मुलुकहरुमा पुगेका नेपालीहरुमा पनि उच्च रहेको छ ।मुस्ताङ प्रवेशद्धार मानिने म्याग्दीको सदरमुकाम बेनीका होटल व्यावसायीहरु यतिबेला मुस्ताङ्गी च्याङ्ग्राको सुकुटी बनाएर सुकाउन व्यस्त छन् । सुकुटी सुकेपछि फ्राइगरेर खानुको मजा नै बेग्लै हुने सुकुटी पारखीहरुको भनाइ रहेको छ ।

बेनीको पर्यटकीय होटल याकमा यतिवेला सुकुटी बनाउन भ्याइनभ्याइ छ । त्यसैगरी होटेल यति,डल्फिन,मुस्ताङ लेते, शिखर, न्यू नमस्ते लगाएतका स्तरीय होटेलहरुमा सुकुटीको माग बढि हुनेभएकाले यी होटेलहरुमा खसी काटेर सुकुटी बनाउन भ्याइ नभ्याइ भएको हो ।

हिमाली क्षेत्रका यार्सागुम्बा,जटामसी,निरमसी तिथो लगाएताका शत्तिवर्धक जडिबुटीहरु खाएका हिमाली च्याङ्गाको मासु स्वास्थ्यका लागि समेत उपयोगी मानिने हुँदा भेडा,चेलु र खसीको तुलनामा महङ्गो हुने गर्दछ । यस वर्ष मुस्ताङ्गी च्याङ्गाको मूल्य २८ हजारदेखि ४० हजारसम्म पुगेको व्यापारीहरुले बताएका छन् ।

यति महङ्गा च्याङ्ग्राको सुकुटीको मूल्य पनि अत्यधिक छ । प्रतिकिलो ३ हजार भन्दा बढि रहेको व्यापारीहरुले बताएका छन् । जति महङ्गो भएपनि खपत पनि अत्यधिक रहेको छ । विशेष गरी विदेशमा रहेका आफन्तहरुलाई कोशेली पठाउनेहरुले अत्यधिकरुपमा सुकुटी किन्ने गरेका छन् ।