शुभकार्यमा बजाइने धिमे बाजा र मंगलधुन

बडादशैंको आज सप्तमीका दिन बेनीबजारको कोट मन्दिरमा फुलपाती भियाउने क्रममा नेवारी जातिको मौलिक धिमे बाजा र मंगलधुन बजाइएको छ । कोट मन्दिरबाट शुरु भएको पञ्चे बाजासहितको ¥यालीले बेनीबजारको परिक्रमाको क्रममा बाँसुरी ,मादल र झ्यालीको प्रयोग गरि मंगल धुन,धिमे बाजा र झ्याली बजाईएको थियो । ‘धिमे बाजं’ नेवार समुदायमा शोक बाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा भएको नेपाल भाषामंकाःखल अन्तर्गतको ल्याम पुचःका अध्यक्ष सुवीन श्रेष्ठले बताए ।

‘एक प्रकारको आनन्द र उर्जा प्रदान हुन्छ,‘बिशेष गरेर जात्रा पर्वहरुमा मंगलधुन र धिमे बाजा धेरै बजाईन्छ’ श्रेष्ठले भने । धिमे बाजा र बाँसुरी बादनसम्बन्धी प्रशिक्षण समेत दिइएको बताउँदै पछिल्लो समे यूवापुस्ताको आर्कषण बढ्दै जान थालेपछि सहज भएको बताए ।मानवबस्तीको विस्तारसँगै बेनीबजारमा बसोबास गर्ने नेवार समुदायले आफ्नो भाषा र संस्कृति लोपोन्मुख अवस्थाबाट जोगाउन आवश्यकता अनुसार काठमाण्डौबाट प्रशिक्षक समेत बोलाएर तालिम दिने गरिएको छ।

‘धिमे बाजं’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन छ। यो समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गर्दछन्। तत्कालिन समयमा काठमाण्डौ र भक्तपुरे नेवार समुदायमा पुरुषले मात्रै धिमे र बाँसुरी बजाउने चलन रहेको अवस्थामा पछिल्लो समय महिलाले समेत नियमित बजाउन थालेपछि सहज भएको बताए । बेनीमा विद्यालयस्तरमा अध्ययरत विद्यार्थीले नै रहरलाग्दो गरी बाँसुरी बजाउन थालेको नेपाल भाषा मंकाःखका संस्थापक अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले बताए ।

‘कला र संस्कृतिको संरक्षणमा यूवापुस्ताको सक्रियता आवश्यक छ,‘सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’ उनले भने । नेवार समुदायमा प्रचलित बाजाहरुलाई बेनीसम्म ल्याउने प्रयासमा सरकारी निकायबाट समेत प्रोत्साहन आवश्यक रहेको उनको भनाई छ ।पछिल्लो समय बेनीमा युवतीहरुको पनि उत्साहजनक सहभागिता हुन थालेपछि बेनीमा हुने महत्वपूर्ण कार्यक्रम, उत्सव तथा महोत्सवमा समेत प्रयोग गर्ने गरिएको छ ।

नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दशैं, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन छ। लोकप्रिय रहेको धिमे रूखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुबैतिर छालाले मोडेर बनाइएको ‘ताल बाजा’ हो। बेनी नगरपालिका–७ को आर्थिक सहयोगमा एक महिने तालीम सञ्चालन पछि केही पुराना बाजाले निरन्तता पाउन थालेको छ । बेनीबजारमा बर्खेनाच अन्तर्गत लाखेनाच, नागानागिनी नाच, श्रीकृष्ण र रथ यात्रासहित विविध नाच देखाउने गरिएको भएपनि धिमे बाजा र मंगलधुन विषेश कार्यक्रमहरुमा मात्रै बजाइन्छ ।