दिदीबहिनीको मुठ्ठीदानमार्फत आर्थिक सहयोग

महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदानप्रदान गरेको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर शुक्रबार शुभकामना आदानप्रदान गर्नुका साथै मृगौलापीडिलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

मुठ्ठीदानवापत सङ्कलित नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीका मृगौलापीडित ईन्द्रबहादुर बानियाँलाई सहयोग गरिएको सहकारीले जनाएको छ । उक्त रकम बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, सहकारीका अध्यक्ष ज्योती लामिछाने, उपाध्यक्ष विष्णु गौतम, कोषाध्यक्ष जगतदेवी बानियाँ र सहसचिव अम्बिका श्रेष्ठसहित पदाधिकारीहरुले हस्तान्तरण गरेका थिए ।

मुठ्ठीदान अभियानबाट सङ्कलित रकम मृगौलापीडित बानियाँका श्रीमती अप्सरा बानियाँलाई हस्तान्तरण गरिएको थियो । साढे २ वर्षदेखि मृगौलामा समस्या आएपछि उनी हाल काठमाडौंको बनस्थलीस्थित मृगौला हस्पिटल (किड्नी सेन्टर)मा उपचार गराइरहेका छन् । आर्थिक अभावका कारणले गर्दा उनको उपचारमा समस्या भैरहेको छ । दिदीबहिनी सहकारीले मुठ्ठीदान अभियानमार्फत विभिन्न समयमा आपत्विपद्मा परेका तथा बिरामीलाई सहयोग गर्दै आइरहेको छ ।