बेगमा ग्लोबलआईएमई बैंकको शाखारहित बैंकिङ सेवा

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शाखा रहित बैंकिङ सेवा सुरू गरिएको छ । वित्तिय कारोबारका लागि सदरमुकाम बेनी आउनुपर्ने अवस्थाको अन्त्य गर्ने सुरू गरिएको शाखा रहित बैकिङ सेवाले बेगबासीलाई सहज हुने बेनी शाखाका प्रबन्धक भोला पौडेलले बताए ।

उनका अनुसार बेग, बादुक तथा आसपासका गाउँका साथै छिमेकी चिमखोला लगाएतका क्षेत्रका जनतालई घरदैलोमा नै आर्थिक कारोबार, बचत तथा कर्जाका लागि सम्पर्क केन्द्रको रुपमा समेत काम गर्न सहज भएको बताए । ‘रेमिट्यान्स सेवालाई धेरै सहज हुन्छ,‘बेलाबेलामा प्राविधिक सहयोग समेत दिन्छौ’ पौडेलले भने । उनक अनुसार वित्तिय साक्षरता कार्यक्रम सहित बैंकमार्फत हुने गतिविधिलाई विश्वासिलो बनाउन समेत सहज हुने बताए ।

सेवा सञ्चालनको करिव एक सातामा खाता खोल्ने तथा आर्थिक कारोबार गर्नेको संख्या बृद्धि भएको सम्पर्क ब्यक्ति रमेश परियारले बताए । बैंकले स्थानीय प्रतिनिधिको रुपमा चयन गरेपछि नियमित रुपमा कारोबार सुरु भएको उनले बताए । दैनिक दुई लाखसम्म बचत तथा एक लाख रुपैयाँ भुक्तानी गर्न सकिन्छ ।

बेगखोलाका वडा अध्यक्ष बिलबहादुर फगामीले शाखारहित बैंकिङ सेवाले गाउँबाट बचत तथा पैसा निकाल्न बजारमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । ग्लोवल आइएमई बैङ्कका नेपाल भर १४५ शाखा, १४८ एटिएम छन । म्याग्दीकै धवलागिरी गाउँपालिका वडा नं ७ सिवाङमा समेत ग्लोबलको शाखा रहित बैंकिङ सेवा रहेको छ ।