घोडेपानीको मगर संग्रहालय संस्कृति र जीवनशैलीको आँखीझ्याल

संसारकै उत्कृष्ट गन्तव्यस्थल मध्येको एक म्याग्दीको प्रशिद्ध पर्यटकीय क्षेत्र घोडेपानीका आमाहरुले १७ वर्ष अघि २०६० सालमा प्रतिव्यक्ति ५÷५ रुपैयाँ संकलन गरी संचालन गरेको मगर संग्रहालय मगर संस्कृति र जीवन शैली बुझ्ने र हेर्नेका लागि आँखिझ्याल बनेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घोडेपानीका महिलाहरूले स्थापना गरी संचालन गरेको सो संग्रहालयमा अहिले दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्ने गर्दछ ।

मगर संग्रहालयमा संग्रहित जातीय पहिचान झल्कने कपडा,भाँडाकुडा,कृषि औजार,पुराना पुराना सिक्का,रुपैयाँ,भियाङ्गा,१ सय वर्ष अघि प्रयोग गरिएका मदानी,ठेकी,मदिरा उत्पादन गर्ने भाँडा लगाएत मगर जातीले परम्परादेखि प्रयोग गर्दै आएका सम्पूर्ण सामाग्रीहरु संग्रह गरिएको घोडेपानी मगर संग्रहालयकी प्रमुख एवम् घोडेपानी आमा समूहकी सदस्य सेउमाया पुनले बताईन् ।संग्रहालयकी प्रमुख पुनका अनुसार संग्रहालय २०६० सालमा १९ जना सदस्यहले ५ रुपैयाँ उठाएर सामुदायिक भवनको एउटा कोठा भाडामा लिइ संग्रहालय स्थापना गरिएको थियो ।

सुरुमा घोडेपानीका मगरहरुको घरमा रहेका पुराना केही सामाग्रीहरु संकलन गरी सुरु गरिएको संग्रहालय पछि विस्तार गरिएको हो ।म्याग्दीका विभिन्न मगर वस्तीहरुमा पुगेर प्राचिन सामाग्रीहरुको खोजी गरी गाउँगाउँबाट संकलन गरिएका सामाग्रीहरु संग्रहालयमा राखिएको घोरेपानीका स्थानीय जंगबहादुर पुनले बताए ।

संग्रहालयमा मगर समुदायको जन्मदेखि मृत्यु सम्मका दैनिक जीवनमा प्रयोग हुने सामानहरूको संरक्षण गरेर राखिएको छ। मगर समुदायको जातीय पहिचान झल्कने कपडा, भाँडाकुडा, सिक्का, खेतीबालीमा प्रयोग हुने औजार संग्रहालयमा संरक्षण गरेर राखिएको छ । आमा समुहका सदस्य पुनका अनुसार आन्तरीक र बाह्य गरी दैनिक १ सय ५० जनाको अनुपातमा पर्यटकहरु संग्रहालयको अवलोकन गर्न आउँछन् ।

संग्रहालयमा २ सय ५० वर्ष पुराना सामाग्रीहरु समेत रहेका स्थानीय पूर्णबहादुर पुनले बताए। ‘यो संग्रहालय मगर संस्कृति र जीवनशैली बुझ्ने गण्डकी प्रदेशकै सवैभन्दा पुरानो र महत्वपूर्ण संग्रहालय हो‘ पुनले भने ‘यसको संरक्षण र संचालनमा स्थानीय निकाय तथा प्रदेश सरकारले ध्यान दिनु आवश्यक छ ।