मोनाले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता

म्याग्दीको समृद्धि र विकासका लागि निजी क्षेत्रसँगको सहकार्य र साझेदारितालाई प्राथमिकता दिनुपर्ने बेनीमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले बिहिबार म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई स्वागत तथा भेटघाट कार्यक्रममा प्रवासी म्याग्देलीसँग सहकार्य गरी उत्पादनमुखी क्ष्नेत्रमा सार्थक परिणाम निस्कने गरी लगानी भित्राउनुपर्ने बताइएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले जिल्लाभित्र विभिन्न देशबाट सहयोगका गतिविधि अत्याधिक भएपनि वैदेशिक लगानी सोचेजस्तो नभएको बताउनुभयो ।  उहाँले अहिलेसम्म धेरै हल्ला गरिएपनि पर्यटन, कृषि, जलविद्युत सहित जिल्लामा सम्भावना भएका क्षेत्रमा लगानीको आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले मोनामार्फत सामुहिक लगानी र संस्थागत गतिविधिलाई प्राथमिकता दिएको बताउनुभयो । विदेशमा रहेका म्याग्देलीले आफ्नैजन्मभुमिमा पुँजीको उचित परिचालनका लागि म्याग्दी उद्योग वाणिज्य संघसँग सहकार्य गरिने बताउँदै लगानीकर्ताको मर्म बुझ्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष एवम् म्याग्दी विकास मञ्चका अध्यक्ष तेजप्रकश पुनले म्याग्दी जिल्लाका उत्पादनलाई विश्वबजारमा लैजाने प्रयास स्वरुप हङकङमा मह,टिम्बुर सहित उच्च हिमाली क्षेत्रमा पाईने जडिबुटीको प्रचारप्रसार गरिएको बताउनुभयो ।

स्वागत तथा भेटघाट कार्यक्रममा उपाध्यक्ष सुर्ज भट्टचन, महासचिव विक्रम कार्की, सचिव रमेश पौडेल, महिला सहसंयोजक विष्णु बानियाँ, एशिया प्यासिफिक संयोजक महेन्द्र बानियाँ, मोना जापान महिला विभाग संयोजक दिलु भण्डारी, यूकेबाट आएका राम बहादुर क्षेत्री लगाएतको उपस्थिती रहेको थियो । स्वागत कार्यक्रमको अध्यक्षता तथा स्वागत म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, सञ्चालन महासचिव लीलाराम गौतम र समापन प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले गर्नुभएको थियो ।