हिमाल खुलेको हेर्न तीनदिन कुरे पर्यटक

कतारबाट घर विदामा आएका रघुगंगा गाउँपालिका–२ भगवतीका तिलु शर्मा पौडेल घोडेपानीबाट तीनदिनको बसाईमा दुईपटकसम्म पुनहिलमा जाने प्रयास गरेपनि प्रतिकुल मौसमले बाटोबाटै फर्किए । घोडेपानीमा आयोजित मोना अन्तराष्ट्रियको तेस्रो महाधिवेशनमा सहभागी हुन कतारबाटै पुगेका विक्रम कार्की, रमेश पौडेललाई समेत दुई दिनदेखिको झरीले झुक्याइरहेको थियो ।

आफ्नै जिल्लामा रहेको विश्वकै प्रख्यात पर्यटकीस्थलमा आयोजित कार्यक्रममा सहभागि हुन पुगेका म्याग्देली सहित ठूलो संख्यामा पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई घोरेपानी तथा पुनहिलबाट देखिने हिमश्रृंखलामा मडारिएर आउने बादलले झपक्कै छोप्दा निराश भएका थिए । बेला–बेला झुल्किने घाम र खुल्ने आकाशले समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा पुगेका पर्यटकले विश्वकै सातौ अग्लो धौलागिरी सहित दर्जन मनोरम हिमश्रृखलाका साथै सुर्योदयको अवलोकनलाई बादलले घेरा हालेको देखेपछि फर्किने गरेका थिए ।

‘तीनदिसम्म कुर्दा पनि हिमाल खुलेर,‘धेरै खर्च गरेर आएका पर्यटकहरु निराश भएर फर्किए’ पोखराबाट आएका गाईड बुद्धि अधिकारीले भने । उनले यूरोपेली मुलुकबाट पुनहिल घुम्नै भनेर आएका पर्यटकले चम्किलो हिमाल दर्शन गर्ने इच्छा मनमै रह्यो भन्दै अर्कोपटक आउने भन्दै फर्किएको बताए । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेपनि प्रतिकुल मौसमका कारण पर्यटकहरुले दृश्यावलोकनको आनन्द लिन नपाएपछि निराश भएर फर्किएका थिए ।

असोज ११ गतेदेखि १५ गतेसम्म छिनछिनमा बादल लाग्ने,वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका पर्यटकले होटलबाटै तस्वीर लिएर फर्किएका थिए।मौसम प्रतिकुल भएपनि शरद ऋतुको सुरुवात संगै अन्नपूर्ण गाउँपालिका वडा नं ६ मा पर्ने घोडेपानीमा विभिन्न नाकाबाट पर्यटकहरुको आगमन बृद्धि हुदै गएकोले यहाँका होटेलहरु खचाखच भरिएका इलाका प्रहरी कार्यालय घोडेपानीका प्रमुख सर्वजित गुरुङले बताए ।

कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक हुदै घाडेपानी र यता म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै घोडेपानी र नागी–महरेडाँडा हुदै पुनहिल आउने पर्यटकलाई मौसमले साथ नदिएपनि बिहिबारदेखि मौसममा सुधार आएपछि उत्साहित भएको उनले बताए ।‘दैनिक ३ सय ५० को हाराहारीमा पर्यटक आउँछन्’ । कास्की क्षेत्रबाट आउने अत्याधिक छन्’ उनले भने । यहाँ आएका पर्यटक दुई÷ तीन दिनसम्म घोडेपानी,पुनहिल तथा आसपासका क्षेत्रमा रमाउने गर्दछन् ।

९ जना चिनियाँ पर्यटकहरुलाई लिएर घोडेपानी आएका पर्यटक गाइड सन्तमान गुरुङले मौसम प्रतिकुल भएका कारण पर्यटकहरुले घोडेपानी र पुनहिलबाट हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न नपाएका बताए । घोडेपानीमा मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य लगायत प्रस्तुत गरी पर्यटकलाई आर्कषित गर्ने गरिएको घोडेपानी टोलसुधार समितिका संयोजक विरेन पुनले बताए ।

‘यो सिजनमा सबैभन्दा धेरै पर्यटक भित्रिन्छन्,‘खचाखच पर्यटकका कारण कोठा नै अभाव हुन्छ’ पुनले भने । मगर समुदायको मात्र बस्ती रहेको घोडेपानीमा ४८ घरधुरी रहेकोमा अधिकांशले पर्यटन ब्यवसाय गरि बसेका छन् । चार दशकअघि अन्नपुर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै अहिले सुविधासम्पन्न होटलहरू बनेका छन् ।

पर्यटकलाई लक्षित गरेर स्थानिय आमा समुह र होटल ब्यवसायी समितिले सरसफाईमा नमुना बनाउने प्रयास गरिरहेको छ। पर्यटकको आगमन बढ्दै जान थालेपछि प्रहरीले पर्यटकको सुरक्षाका लागि विभिन्न गस्ती गर्न थालेको छ । विश्वको उत्कृष्ट गन्तब्य भित्र पर्ने अन्नपुर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोडेपानी एक सुन्दर गन्तब्य हो । ४५ वर्षअघि २०३२ सालदेखि घोडेपानीमा वस्ती विस्तार भएसंगै होटल व्यवसायले फड्को मार्न थालेको स्थानीय होटल व्यवसायीहरुको भनाइ छ ।

शुरुमा टहरो बनाएर होटल व्यवसाय शुरु गरेका यहाँका व्यवसायीहरुले अहिले करोडौ रुपैया खर्च गरेर विदेशी पर्यटक लक्षित सुविधा सम्पन्न होटेलहरु संचालन गरेका हुन् । स्वर्गीय मेजर टेकबहादुर पुनले सुरु गरेको पूर्वाधारसँगै पहिलोपटक नरबहादुर पुनले होटल सञ्चालन गरेका थिए । तत्कालिन समयमा पैदलमार्ग हुदै कास्कीबाट छिमेकी जिल्ला मुस्ताङ जाने छोटो र सजिलो गन्तब्य भएकाले पर्यटक र भरियालाई खाजा खुवाउनका लागि होटल ब्यवसाय सुरु गरिएको थियो ।