बेनीमा बम जस्तै पड्किने मोटरसाईकको आतंक

मध्यरातमा अत्यन्तै चर्को आवाजसहित मोटरसाइकल चलाएपछि न्यूरोडका कृष्णराज पौडेलले सामाजिक सञ्जाल फेसबुकमा शान्तसँग सुत्नसमेत नदिएर ‘डिस्टर्व’ गरेको भन्दै स्टाटस् नै लेखेर आक्रोश पोखे । विरेन्द्रचोकमा प्रमुख जिल्ला अधिकारीको निवास अगाडी एक यूवाले तिब्र गतिमा बम जस्तै आवाज निकाल्दै कुदाए ।

यी दुई प्रतिनिधिमूलक घटना हुन् । हातमा बमको रिर्मोट जडान गरेजस्तै यूवाहरुले भीडभाड र आफुँलाई अनुकुल हुने ठाउँमा कानको जाली फुट्ने गरी पड्काउने गरेका छन् । मोटरसाईकलको चर्को ध्वनि प्रदूषणले यूवाहरूलाई मनोरञ्जन हुने भएपनि बटुवा र नजिककै सवारीसाधनमा यात्रा गरेका त्रसित हुने गरेका छन् ।

बजारको मुख्य चोकदेखि गल्ली–गल्लीमा चर्को आवाजमा मोटरसाइकल चलाउनेहरूलाई नियन्त्रणमा लिन बेनीबजारबासीले माग समेत गरेका छन्।‘नजिकै बम जस्तै पड्किन्छ,‘यूवाहरुलाई रमाईलो हुन्छ,बालबालिकादेखि बृद्धबृद्धा पड्किदा त्रसित हुन्छन्’ विरेन्द्रचोककी र्सिजना भट्टचनले भनिन्। उनले जिल्लाको प्रमुख प्रशासनीक क्षेत्र आसपासमा समेत दैनिकजसो मोटरसाईकलको चर्को आवाजले त्रसित हुनपर्ने अवस्था रहेको बताईन्। ‘मोटरसाईकलको बमको आतंक अन्त्य गर्नुपर्छ,‘चाडपर्वमा बाहिरी जिल्लाबाट समेत भित्रिन्छन्’उनले भनिन्।

विगत लामो समयदेखि बेनीबजार नै थर्किने गरी आवाज निकालेर मोटरसाइकल चलाउने, मोडिफाई अर्थात स्वरुप परिवर्तन गरी चलाउने प्रबृत्तिका कारण ध्वनि प्रदूषण बढ्दै गएको छ । चर्को आवाज निकाल्ने सवारी चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका मित्रलाल ढकालले बताए । उनले पाँचसयदेखि १५ हजारसम्म जरिवाना गर्न सकिने बताउँदै पटक–पटक कारवाहीमा परेकालाई कडा कारवाही गर्ने बताए ।

‘जरिवाना गरी स्वरुप सामान्य अवस्थामा नफर्काउँदासम्म बाइक फिर्ता गदैनौ,‘सूचनाको आधारमा पनि निगरानी बढाइरहेका छौ’ ढकालले भने। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको भदौ महिनासम्म स्वरुप परिवर्तन (मोडिफाई) गरेका तथा अस्वभाविक आवाज आउने मोटरसाईकललाई कारवाही गरिएको बताए । ट्राफिक प्रहरीको तथ्याङ्कमा रोयल इन्फिल्ड (बुलेट) बाइक, क्रस फायर, होन्डा डर्ट बाइक, एक्स क्रस, हार्टफोर्ड भीआर,लगायत बाइक मोडिफाइड गर्ने गरिन्छ ।

प्रेसर हर्न पल्र्सर, होण्डा लगाएतका अन्य मोटरसाईकलमा समेत प्रयोग गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले बेनीबजार आसपासमात्रै नभई ग्रामिण क्षेत्रमा समेत बाइकबाट फिल्टर निकाल्ने, साइलेन्सर पाइप झिक्ने, बाइकको उचाइ बढाउने र चर्को आवाज निकाल्नेजस्ता गतिविधि भइरहेको बताउँदै त्यस्ता गतिविधि गर्नेको बाईक नम्बर उपलब्ध गराए ठाउँमै पुगेर कारवाही गर्ने जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐनमा सवारीसाधन मोडिफाइड गर्दा यातायात कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ। ‘सवारी धनीले ऐनको दफा ३९ बमोजिम सवारीको रङ, सिट संख्या, स्वरूप परिवर्तनका लागि कानुनी प्रक्रिया अनुसार अगाडी बढ्नुपर्छ ।

केही मोटरसाईकल वर्कसपले कमाई हुने नाममा मापदन्डभन्दा बाहिर स्वरुप परिवर्तन गर्ने गरेको समेत पाइएको छ । कम्पनीबाटै आएको बाईकको मोडिफाइड गर्दा बाइक असुरिक्षत बन्दा दुर्घटनाको जोखिम अत्याधिक हुने गरेको छ । यता ध्वनि प्रदूषणले स्वास्थ्यमा समेत असर गर्ने बेनी अस्पतालका क्लिनिकल कोर्अडिनेटर नवराज बस्ताकोटीले बताए ।

‘बालबालिका र कमजोर मुटु भएकालाई प्रत्यक्ष असर गर्छ,‘एक्कासी आवाज आउँदा कानमा समस्या हुनसक्छ’ बास्ताकोटीले भने। उनले ब्यस्त बजार, अस्पताल, विद्यालय आसपासका क्षेत्रमा ध्वनि प्रदूषण नियन्त्रण गर्नुको प्रमुख कारण भएको बताए । मानिसको कानले करिव ६० डेसिमलभन्दा बढीको आवाज सुन्न नसक्ने भएकाले पनि ध्वनि नियन्त्रणलाई गम्भीरतापूर्वक लिनुपर्ने चिकित्सकको भनाई छ ।