म्याग्दीमा पाँच करोडको खुद्रा नोट माग, नेपाल बैंकले ४० लाख वितरण

विगतका बर्षको तुलनामा यसबर्ष निकै कम नयाँ खुद्रा नोट भित्रिएको छ । नेपालीको प्रमुख पर्व दसैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तिय संस्थामा खुद्रा नोटको अभाव देखिएको छ । नयाँ र खुद्रा नोटको अभाव हुने हल्ला चलेपछि दैनिकजसो खुद्रा पैसाका लागि वित्तिय संस्थामा भिड लाग्न थालेको हो ।

चाडपर्वमा किनमेल गर्न बजार झर्ने सर्वसाधारणले करिव ५ करोडको हाराहारीमा नयाँ र खुद्रा नोटको माग गरेको नेपाल बैंक म्याग्दी शाखाका प्रवन्धक मोहन लामिछाने बताउनुभयो । सर्वसाधारणलाई ८ हजार ५ सयको दरले नयाँ नोट वितरण गरिएको छ । लाइनमा बसेकालाई समेत तोकिएको पैसा उपलब्ध गराउन नसकेपछि थप माग गरिएको बैंकले जनाएको छ। उनले दुईदिनमा सर्वसाधारणलाई ४० लाख वितरण गरिएको बताए । उनले सर्वसाधारणको माग भन्दा पाँच गुणाभन्दा कम वितरण गरेको बताए ।

गतबर्ष बैंकले प्रति ब्यक्ति १८ हजार ५ सयक उपलब्ध गराएको थियो । नेपाल बैंकमा राष्ट्रबैंकको नोट कोष समेत रहेको छ। विगतका बर्षको तुलनामा ६० प्रतिशतभन्दा कम नयाँ र खुद्रा पैसा कम आएकाले माग अनुसार वितरण गर्न नसकिएको बैंकको भनाई छ । यसबर्ष राष्ट्र बैंकबाट ५, १०, २०, ५०, १०० रुपैयााको नयाँ नोट उपलब्ध गराएको छ । यसपटक लाइनमा राखेर वितरण गरिएको छ ।

खुद्रा नोटको माग बढिरहेकाले कम प्राप्त भएपछि वितरणमा समेत समस्या भएको निजी बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिले बताएका छन्। आफ्ना ग्राहकको माग अनुसार नोट उपलब्ध गराउन नसकिएको गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमल प्रसाद ढुंगानाले बताउनुभयो । ५० र १ सयको नयाँ नोटको माग धेरै रहेको छ । नयाँ सहित एक पटक प्रयोग भइसकेका सुकिला नोट वितरण गरेमा खुद्रा पैसाको अभाव ठेग्न सकिने वित्तिय संस्थाका प्रतिनिधिको भनाई छ।

म्याग्दीको सदरमुकाम बेनीसहित जिल्लामा सबै स्थानीय तहमा रहेका वित्तिय संस्थामा नयाँ नोटका लागि सर्वसाधारण दिनभरी लाइनम बसेका छन् । शाखा विस्तार गरेका केही निजी बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंक पोखरा र आफ्नै केन्द्रिय कार्यालयबाट समेत नयाँ नोट ल्याउने गरेका छन । यसैविच नयाँ नोटको सुरक्षा गर्न बैंकले वित्तिय संस्थामार्फत सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । दसैंमा टिका लगाउँदा अविर पार्ने, बली दिदाँ रगत, जुँवातास खेल्ने क्रममा खुम्चाउदाँ नोटको आयु घट्दाँ राष्ट्रलाई थप आर्थिक भारपर्ने तर्फ प्रयोगकर्ता लाई सचेत बनाएको बैकले जनाएको छ ।