घोरेपानीमा मोनाको तेस्रो महाधिवेशन सुरू (फोटो फिचर)

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले वैदेशिक रोजगारमा सिकेका सीप, ज्ञान, क्षमता र पूँजीलाई आफ्नै जन्मूभिममा उपयोग गर्न अनुरोध गर्नुभएको छ । नेपाल सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानलाई सफल बनाउन विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीले वैदेशिक रोजगार, ब्यापार तथा विभिन्न पेशाको अनुभवसँगै पूँजीलाई सम्भावनायुक्त क्षेत्रमा लगानीको वातावरण बनाउने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका वडा नं ६ पर्यटकीयस्थल घोरेपानीमा मंगलबारदेखि आयोजित म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको तेस्रो महाधिवेशनको उद्घाटन गदैं मन्त्री थापाले पर्यटन, जलविद्युत, कृषि सहित जिल्लामा सम्भावना भएका क्षेत्रमा पूँजीदेखि स्रोतसाधन परिचालन गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताईन् । ‘मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैले साथ दिनुपर्छ,‘प्रवासीहरूसँग सरकारले हातेमालो गर्न तयार छ’ मन्त्री थापाले भनिन् ।

उनले प्रवासी म्याग्देलीको एकता र सहकार्यलाई जिल्लाको आर्थिक, सामाजिक तथा सम्रग विकासमा सहयोगी भूमिका रहेको बताईन् । सोही अवसरमा मन्त्री थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिकको सम्मानमा सरकारले कानुनसँगै विभिन्न रचनात्मक कार्यहरु गरेको बताईन् । उनले दुईतिहाईको सरकारले जनताको आवश्यकतालाई पुरा गर्ने क्षेत्रमै केन्द्रित भएको बताईन् ।

महाधिवेशनको अवसरमा संविधान सभाका सदस्य रेशम बहादुर बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजा, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, मोना आइइसीका संस्थापक अध्यक्ष तेजप्रकाश पुन, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल लगाएतले मन्तब्य राखेका थिए ।

महाधिवेशनको अध्यक्षता चक्रबहादुर थापा, स्वागत उपाध्यक्ष योगकुमार फगामी र सञ्चालन महासचिव मिम पूर्जाले गरेका थिए । महाविधेशनमा विश्वका विभिन्न देशबाट मोनाबा प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनको अवसरमा स्थानीय घोरेपानी आमा समुहको अगुवाईमा पुख्यौली नाच सहित विभिन्न सांस्कृति कार्यक्रम गरिएको थियो । महाधिवेशले बुधबार नयाँ नेतृत्व चयन गर्ने छ ।