बन्यो लभ्लीहिल पुग्ने पदमार्ग निर्माण, भब्य समारोहका बिच उद्घाटन (फोटो फिचर)

पछिल्लो समय निकै चर्चा बटुलेको पर्यटकीयस्थल लभ्लीहिल पुग्नका लागि बेनीदेखि पक्की पदमार्गको आइतबार उद्घाटन गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बेनीदेखि नजिकै बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँमा रहेको पर्यटकीयस्थल लभ्लीहिल पु¥याउन बनाइएको पदमार्गको प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे ।

उद्घाटनपछि लभ्लीहिलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले बेनी नगरपालिका, प्रवासी म्याग्देलीहरुको संस्था मोना आइईसी र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा निर्मित पदमार्गले जिल्लामा लगानी भित्राउने वातावरण बनाएको बताएका थिए ।‘मोनासँग सहकार्य गरी जिल्लामा धेरै काम गर्न सकिन्छ,‘समुदाय केन्द्रिय कार्यहरूमा सक्रियता देखाउनुहोस्’ थापाले भने ।

उनले जिल्लामा मोनाका कार्यहरुबाट उत्साहित हुने ठाउँ भएपनि राजनीतिकबाट टाढा रहेर जिल्लाको हितमा केन्द्रित भएर काम गर्न अनुरोध समेत गरेका थिए । सोही अवसरमा संविधान सभाका सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशका सांसद विनोद केसीले पर्यटन, जलविद्युतको क्षेत्रमा लगानीको वातावरण रहेको बताए ।

बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरपालिकाले पहिलोपटक प्रवासी म्याग्देलीसँग साझेदारी गरेर समयमै पदमार्ग सम्पन्न गरेको बताउँदै थप योजना आगामी दिनमा समेत समृद्ध नगरपालिका बनाउने अभियानमा सहयोगको अपेक्षा गरेका थिए । उद्घाटपछि पदैलमार्ग हुदै लभ्लीहिलमा पुगेर आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की,कार्यक्रममा वडा नं २ का अध्यक्ष हिराबहादुर थापा, मोनाका संस्थापक अध्यक्ष प्रकाश पुन,मोनाका पदमार्ग संयोजक ओमनारायण जुग्जालीले मन्तब्य राखेका थिए । कार्यक्रममा पदमार्ग निर्माणमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो ।

सोही अवसरमा बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले स्वर्गिय पिताको सम्झनामा निर्मित मुखिया बिश्रामस्थलको संघीय सांसद भुपेन्द्रबहादुर थापाले र लभ्लीहिलमा निर्मित बाटिकाको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गरेका थिए । डिभिजन बन कार्यालयको आर्थिक सहयोग तथा स्थानीय उपभोक्ताको समेत जनश्रमदानबाट निर्मित बाटिकाको उद्घाटन संगै अवलोकन समेत गरिएको थियो । पदमार्ग निर्माणका लागि क्रमशः बेनपाले ५०, मोना आइईसीले ४० र म्याग्दी उद्योग वाणिज्य संघले १० प्रतिशत रकम बेहोर्ने गरी त्रिपक्षीय साझेदारी भएको थियो ।

जसअन्तरगत मोना आईईसीबाट २९ लाख ८९ हजार ४४४, बेनी नगरपालिका ३७ लाख ३६ हजार ८०५ र म्याग्दी उद्योग वाणिज्य संघले ७ लाख ४७ हजार ३६० सहयोग गरेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, स्वागत मोना आईईसीका अध्यक्ष चक्रबहादुर थापा, आर्थिक प्रतिवेदन पदमार्ग ब्यवस्थापन समितिका कोषाध्यक्ष सुनिता केसी र सञ्चालन म्याग्दी उवासंघका सचिव सुर्वण रिजालले गरेका थिए ।

‘मोना–बेनी–लभ्लीहिल’ नाम राखिएको पदमार्गको गएको वर्ष भदौ ८ गते शिलान्यास गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई चिनाउन लागि पदमार्ग निर्माण गरिएको बेनी नगरपालिकाले जनाएको छ । पदमार्गको ६ सय ६० मिटर पदमार्ग बनेको छ । २ मिटर चौडाइको सिँढीमा ६ इन्च उचाई रहेको छ भने पैताला १२ देखि १४ इन्चसम्म रहेकोमा पदमार्गको दुवैतर्फ रेलिङ हालिएको छ ।