छोराछोरीको जन्मदिन-चाडपर्वमा बचत गरेको पैसाले दरबाङमा दन्त शिविर

म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा शनिबारदेखि निशुल्क दन्त शिविर सुरू भएको छ । मोना अस्टेलियाका अध्यक्ष मुक्ति रोका र उनकी धर्मपत्नी टिका रोकाले छोराछोरीले जन्मदिन, चाडपर्वमा संकलन गरेको आर्थिकले दुईदिने शिविर आयोजना गरिएको थियो ।

शिविरको उद्घाटनको अवसरमा बोल्दै रोकाले छोराछोरीले विदामा नेपाल आउ्रँदा आफ्नो जन्मदिन र चाडपर्व लगाएतमा संकलन गर्ने गरेको पैसाबाट सहयोग गर्ने गरेको बताए । ‘छोराछोरीकै उपस्थितीमा कार्यक्रम गर्ने गरेका छौ,‘यहाँका समस्य र आवश्यकतालाई नजिकबाट हेर्ने वातावरण बनाएको छु’ रोकाले भने ।

उनले छोराछोरीको उपस्थितीमा शिक्षा, स्वास्थ्य लगाएतका सामाजिक कार्यहरुमा खर्च गर्ने गरेको बताउँदै हरेक अभियानमा अपुग पैसा मात्रै आफ्नो तर्फबाट ब्यवस्थापन हुने गरेको उनले बताए । शिविरको उद्घाटनको अवसरमा नेपालमा सहयोग गर्ने बचत गर्ने खुत्रुकेले आफ्नै गाउँ मंगला गाउँपालिका १ कुहुँका विद्यालयमा विगतमा स्टेशनरी सहित विभिन्न सहयोग समेत गरेपछि छोराछोरीमा बचत गर्ने बानीको विकास भएको बताए ।

सोही अवसरमा मंगला गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले पश्चिम म्याग्दीमा लामो समयपछि दन्त शिविर सञ्चालन गरिएको बताए । त्यस्तै गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले फजुल खर्च र आफ्नो जन्मदिनमा जम्मा गरेको पैसाले स्वास्थ्य शिविर सञ्चालन गर्ने नयाँ र सन्देशमुलक कार्य भएको बताईन् । शिविरमा लायन्स क्लव दरबाङ शाखाका प्रतिनिधि, स्थानीय संघसंस्थाबाट समेत प्रतिनिधित्व रहेको थियो ।

डा. थापाको नेतृत्वमा रहेका चिकित्सकले पहिलो दिन १ सय ९० जना बिरामीको चेकजाँच गरेका छन् । ४ सय २ जनाले पहिलो दिन नाम दर्ता गरेका थिए । जसमध्ये १५ जना पुरुष बाँकी महिला रहेको जनाइएको छ । शिविरमा बालबालिका सहित गाउँपालिका भित्रका विभिन्न वडाबाट सर्वसाधारण आएका थिए । शिविरमा दाँत सफा गर्ने, किराले खाएको दाँतमा सिमेन्ट भर्ने, दाँत निकाल्ने लगायत दाँतसम्वन्धि विभिन्न समस्याको उपचार सेवा सहित औषधि वितरण गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका पूर्व अध्यक्ष हिरा पुनले बताए ।

दाँत सफा गरिएको र परामर्श सेवा समेत प्रदान गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले समेत विरामीको उपचारमा सघाएका थिए । शिविरको उद्घाटन सत्रको अध्यक्षता गाउँपालिका अध्यक्ष रोका, स्वागत उपाध्यक्ष विटालु र सञ्चालन हिरा थापाले गरेका थिए भने शिविरको उदेश्यका बारेमा मुक्ति रोकाले जानकारी गराएका थिए । शिविर आइतबारसम्म सञ्चालन हुने छ ।