म्याग्दी विकास मञ्चले लभ्लीहिलमा भ्यूटावर बनाउने

बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलमा भ्यूटावर बन्ने भएको छ । सदरमुकाम बेनीदेखि छोटो दुरीको सुन्दर गन्तब्य लभ्लीहिलमा म्याग्दी विकास मञ्चले २८ लाखको लागतमा भ्यूटावर बनाउने भएको हो । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको म्याग्दी विकास मञ्च तथा म्याग्दी डेभलपमेण्ट ट्रष्टको दोस्रो बार्षिक साधारणसभाको अवसरमा पर्यटनको विकासमा सघाउने उदेश्यले टावरको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत सार्वजनिक गरिएको थियो ।

विकास मसञ्चको संयोजनमा बेनी नगरपालिका सहित स्थानीय सरोकारवाला निकायसँग सहकार्य गरी निर्माणकार्यलाई तिब्रता दिने मञ्चका प्रथम उपाध्यक्ष प्रमोद श्रेष्ठले बताए । ‘यो मञ्चको पहिलो पूर्वाधारको काम हुनेछ,‘जिल्लाभित्र धेरै विषयमा केन्द्रित भएर काम गर्ने योजना छ’ श्रेष्ठले भने । उनले पूर्वाधार विना पर्यटकलाई आर्कषित गर्न नसकिने भएकाले पनि प्राथमिकता दिएको बताए ।

यूवापुस्ताको अत्याधिक रोजाईमा रहेको तथा जमघट हुन थालेपछि लभ्लीहिल नामाकरण गरिएको पर्यटकीयस्थलमा पछिल्लो समय जिल्लाभित्रका साथै विभिन्न जिल्लाबाट म्याग्दी तथा मुस्ताङ आउने आन्तरिक पर्यटकहरू समेत पुग्न थालेपछि भ्यूटावरले समेत थप आर्कषित गर्ने जनाइएको छ ।

बेनीको शीरमा अवस्थित लभ्लीहिलमा सदरमुकाम बेनीबाट करिव २५ मिनेटको पैदल र सवारीसाधनमा १० मिनेटमै पुगिन सकिने लभ्लीहिलमा बन्ने भ्यूटावरलाई आर्कषक बनाइने मञ्चका अध्यक्ष प्रकश पुनले बताए । ‘स्थानीय सरकारसँग सहकार्य गरी धेरै काम गर्ने योजना बनाएका छौ,‘पूर्वाधार निर्माणमा हामीसँग भएका अनुभवलाई समुदायमा हस्तान्तरण गर्न चाहन्छौ’ पुनले भने । साधारणसभाले भ्यूटावरको छिट्टै शिलन्यास गरिने बताए ।लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ ।

यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ । बेनी नगरपालिका, प्रवासी म्याग्देलीहरुको संस्था मोना आइईसी र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा करिव ८० लाखको लागतमा ‘मोना–बेनी–लभ्लीहिल’ पदमार्गले समेत लभ्लीहिल पदमार्ग समेत बनेको छ । सडक तथा पदैलमार्ग हुदै पुग्न सकिने भएकाले पनि अधिकांस नयाँ पदमार्ग हुदै लभ्लीहिलमा पुग्ने गरेका छन् । लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायतका पूर्वाधारहरु निर्माण गरिएको छ ।पदमार्गसँगै भ्युटावर समेत निर्माण भएमा पर्यटकको आगमन समेत ह्वात्तै बढ्ने स्थानीयको भनाई छ ।