पर्यटकीयस्थल टोड्केको डिपिआर बन्ने

म्याग्दीको पर्यटकीयस्थल टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने भएको छ । बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के (२,५००मिटर) मा अवस्थित टोड्केलाई रघुगंगा र पश्चिम म्याग्दीको पर्यटकीय गन्तब्यको प्रवेशद्धारको रुपमा विकास गर्न डिपिआर तयार गरिने भएको हो ।

शनिबार टोड्के क्षेत्र विकास कोषले बेनीमा आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारको लगानीमा टोड्के क्षेत्र विकास कोषको संयोजनमा डिपिआर तयार गर्ने निर्णय, आफ्नो क्षेत्रबाट पूर्वाधार विस्तारमा बजेट विनियोजन, स्थानीयस्तरमै तीनवटै सरकारका प्रमुख,उपप्रमुख, वडा अध्यक्ष सहितको टोलीको सहभागितामा कार्ययोजना तयार गर्ने, डिपिआर तयार भएपछि सरकारी जग्गालाई कानुन अनुसार भोगचलन गर्न दिन स्थानीय समुदायसँग छलफल गर्ने गरी तीनवटा निर्णय भएको छ ।

विगत,वर्तमान र भविस्यको टोड्के विषयक सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि जिल्लासमन्वय समितिका सभापति देबेन्द्र बहादुर केसीले पर्यटकीय क्षेत्रमा सडक, पदमार्ग र बस्ने पूर्वाधारको न्यूनतमा आवश्यकता रहेको बताउनुभयो ।

सोही अवसरमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले सहकार्यमा पर्यटकीयस्थलमा पूर्वाधार विस्तारमा प्रतिबद्धता जनाउनुभयो । उहाँहरुले स्थानीय सरकारको बजेटले मात्रै अपुग हुने भएकाले प्रदेश र संघीय सरकारबाट समेत बजेटको माग गर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यक्रममा मंगला गापाका उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम,मंगला गापा–१ कुहुँका वडा अध्यक्ष डेकबहादुर राम्जाली, रघुगंगा गापा–५ मन बहादुर शेरपुञ्जा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, टोड्के रिर्सोट प्रालिका अध्यक्ष मिनबहादुर पाईजा, निर्देशक भिम शेरचन, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँ लगाएत सरोकारवाला निकायको उपस्थिती रहेको थियो। कार्यक्रममा टोड्के क्षेत्र विकास कोषका अध्यक्ष ताराप्रसाद आचार्यले टोड्केमा गरिएका गतिविधि सहित भावी योजनाका बारेमा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको स्वागत उपाध्यक्ष देवराज सुबेदी र सञ्चालन सचिव टेकबहादुर राम्जालीले गर्नुभएको थियो ।