लालीगुराँस काट्नेलाई १५ हजार जरिवाना, सूचना दिनेलाई ५ हजार पुरस्कार

राष्ट्रिय फूल लालीगुराँस मास्नेलाई १५ हजार जरिवाना सहित टिप्न प्रतिबन्ध लगाइएको छ । रघुगंगा गाउँपालिकाले जिल्लाको पर्यटकीयस्थल टोड्के, रुईसे लगाएतका गाउँपालिका भित्र लालीगुराँसको जंगलको संरक्षणसँगै दाउरा काट्नेलाई १५ हजार जरिवाना र सूचना दिनेलाई ५ हजार पुरस्कारको ब्यवस्था गरेको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताए ।

शनिबार म्याग्दीको सदरमुकाम बेनीमा टोड्के क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा गाउँकार्यपालिकाको बैठकमार्फत गुराँसको जंगल संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न फूल टिप्न समेत रोक लगाउने गरी थप योजना सहित आउने तयारी भइरहेको बताएका थिए ।

उनले सूचना दिनेको नाम गोप्य राखिने बताउँदै खाली ठाउँमा नयाँ गुराँसका बिरुवा रोप्ने बताए ।वनको शोभा बढाइरहेको र फूल हेर्न जानेले फूल नै चुँडेर ल्याउन थालेपछि गाउँकार्यपालिकाको बैठकले उक्त निर्णयसँगै सामुदायिक बन उपभोक्ता समितिलाई समेत जानकारी सहित अभियानमा सक्रियता देखाउन अनुरोध गरेको छ ।

रघुगंगासँगै मंगला गाउँपालिकाले समेत पर्यटकीयस्थल तथा गुराँसको जंगल संरक्षण सहितका योजनालाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए। फूल टिपेर सौन्दर्य बिग्रिन थालेको र लालीगुराँसले राताम्य हुने समयमै फूल टिपेर उजाड हुन थालेपछि संरक्षणका अभियानलाई प्रभावकारी बनाउने बताए । कटान, खुल्ला चरन र काठ–दाउरा चोरीले गुराँस नासिँदै जान थालेपछि स्थानीय तहले अभियान सुरु गरेका हुन् । म्याग्दीको बेनी नगरपाालि र पाँचवटै गाउँपालिकाको जंगलमा गुराँस पाईन्छ ।