फुटबलको धनराशीले बेनीसम्म तान्दै अफ्रिकी खेलाडी

तेस्रो कालिपुल यूनाईटेड नाइन–ए साइड खुल्ला फुटबल प्रतियोगितामा पर्वतबेनीको उत्साही समुहबाट खेलेका एनईफ नामक खेलाडी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । अफ्रिकी मुलका खेलाडी नेपालमा फुटबल खेल्ने आएका थिए। उनीसँगै ओकेई समेत उत्साही समुहबाटै खेलेका थिए भने अर्को खेलाडी समेत अफ्रिकाबाटै आएका थिए तर उनले खेलमा सहभागी नभई कोचजस्तै भूमिका निर्वाह गरिरहेका थिए ।

शुक्रबार खुल्लामञ्चमा सम्पन्न भएको फाईनल खेलमा आयोजक कालीपुल यूनाईटेडका खेलाडी एकएभ समेत मैदानमा थिए ।अफ्रिकी देशबाट म्याग्दीमा आयोजना हुने खेलकुद प्रतियोगितामा आउने उनीहरु नयाँ अनुहार होईन् । हरेक बर्ष १ लाखभन्दा धेरै धनराशीको प्रतियोगिताको आयोजना हुने बेनीमा प्रतियोगिताको उपाधी जित्नै आयोजक देखि अन्य क्लवले प्रति खेलको ५ हजारदेखि माथी दिने सहमतिमा ल्याउने गरेका छन् ।

उपाधी आफ्नो पक्षमा पार्न महंगा खेलाडीलाई यातायात देखि बस्ने ब्यवस्थापन समेत सम्बन्धित क्लवले गर्ने गरेका छन् । म्याग्दीमा पहिलोपटक अफ्रिकीमुलका खेलाडीलाई माउण्ट एभरेष्ट आवासिय माविको नामबाट दोस्रो बौद्ध कप फुटबल प्रतियोगितामा ल्याइएको थियो।

तत्कालिन समयमा खेलाडीलाई पुरस्कार उपहारसँगै थप १ लाखको हाराहारीमा खर्च गरेको अनुमान गरिन्छ । काठमाण्डौबाट आउने खेलाडीले विदेशी समेत आउँछन भनेपछि मख्ख भएर प्रति खेलको डिल गर्ने गरेकाले पनि पछिल्लो समय खेलाडी ब्यवस्थापनमा हम्मेहम्मे हुने गरेको स्थानीय क्लवको भनाई छ ।

‘धनराशी सुनाएपछि मख्ख परेर आउँछन्,‘उनीहरुले बेलाबेलामा सम्पर्क समेत गर्छन्’ एक क्लवका खेलाडीले भने । हिमाली जिल्ला म्याग्दीमा हुने खेलमा पछिल्ला बर्ष विदेशी खेलाडीको आर्कषण देखिएपछि काठमाण्डौमा ‘बि’ डिभिजनसम्म खेल्ने खेलाडीमार्फत स्थानीय क्लवले मैदानमा उतार्ने गरेका छन् ।सेट टिम नै बाहिरबाट आउन थालेपछि प्रतियोगिताको फाइनल खेल खचाखच दर्शकको बीचमा हुने गरेको छ ।

‘अग्रिम भुक्तानी गरेपछि मात्रै आउँछन्,‘ठूलो धनराशी भएकाले जितेपछि खासै घाटा लाग्दैन’ कालिपुल यूनाईटेड क्लवका अध्यक्ष विकास पुनले भने ।स्थानीय खेलाडीले समेत खेलमार्फत सिक्ने अवसर पाउने भएकाले पनि खुल्ला प्रतियोगितामा निश्चित विदेशी खेलाडी खेलाउने नियम अनुसार अवसर दिइएको बताए । अफ्रिकन खेलाडी नेपालको ए देखि सि डिभिजका क्लवमा आवद्ध छन् ।