एनआरएनए महासचिव केसीमाथि प्रतिनिधि छनौटमा धाँदलीको आरोप

लण्डन गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव बद्री केसीमाथि आधिवेशन प्रतिनिधि (डेलिगेट्स) छनौटमा धाँदली गर्न खोजेको आरोप लागेको छ । एनआरएन युकेको चुनावी विवाद सेलाउन नपाउँदै केन्द्रका लागि डेलिगेट्स छनौटको बेला कार्यक्रम विनै लण्डन पुगेका केसीमाथि धाँदलीको आरोप लागेको हो ।

एनआरएन युकेमा मतदान सम्वन्धि विवाद सल्टाएपछि अध्यक्षमा उम्मेद्धारी घोषणा गरेर उपाध्यक्ष कुल आचार्य कुवेततर्फ लागेको ४८ घन्टा वित्न नपाउँदै केसी लण्डन आइपुगेका हुन् । संघको आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुने नवौं विश्वसम्मेलन तथा अन्र्तराष्ट्रिय अधिवेशनमा केसी कुमार पन्तको प्यानलबाट उपाध्यक्षका उम्मेद्धार हुन् ।स्रोतका अनुसार केसीले एनआरएन युरोपका केही व्यक्तिहरुलाई भेटेर आफु अनुकुलका व्यक्तिहरुलाई मात्रै प्रतिनिधि पठाउन दवाव दिइरहेका छन् ।

बिहीबार राती हिथ्रो विमानस्थलमा उनलाई एनआरएन युकेका नवनिर्वा्चित महासचिव फडिन्द्र भट्टराई, आइसीसी सदस्य रामशरण सिम्खडा लगायतले स्वागत गरेका थिए । केसीले भने आफु निजी भ्रमणमा बेलायत आएको दावी गरेका छन् । ‘म पर्सनल भिजिटमा लन्डन आएको हुँ, छोटो सूचनामा पनि साथीहरु मलाई स्वागत गर्न आउनु भयो । म आभारी छु,’ उनले भने । वर्तमान महासचिव समेत रहेका केसीमाथि एनआरएनएको एमआइएस सिस्टमलाइ एकलौटी गर्न खोजेको आरोप समेत लाग्दै आएको छ ।

संसारकै सबैभन्दा ठूलो एनसीसी बन्न सफल एनआरएन युकेले काठमाडौँमा आउंदो महिना हुन लागेको विश्व सम्मेलनमा झन्डै १८० जना डेलिगेट्सहरु पठाउनेछ । त्यसमा चलखेल गरेर कुमार पन्तका समर्थकहरुलाइ मात्रै डेलिगेट्स सूचीमा पार्ने एकसूत्रीय अभियानमा महासचिव केसी लण्डन आएको उनीनिकट स्रोतले बतायो । तर बेलायतस्थित एनआरएनएकर्मीहरु भने त्यो सम्भव नरहेको र उनका सवै गतिविधि नजिकबाट नियालीरहेको बताउँछन् ।

‘युकेमा गत १४ सेप्टेम्बरको चुनावको विवाद अझै सकिएको छैन। एक समूहका साथीहरुले अझै सपथ लिनु भएको छैन। हामीले सहमतिको प्रयास गरिरहेका छौं, तर एजीएममा कतै न देखिएका महासचिव केसी डेलिगेट्स लिस्टमा धांधली गर्ने एजेन्डा बोकेर लन्डन उत्रनु दुर्भाग्यपूर्ण छ,’ एनआरएन युकेका एकजना संरक्षकले भने । उनले डेलिगेट्स लिस्टमा धांधली गर्न खोजे केसी विरुद्ध सप्रमाण केन्द्रमा उजुरी गर्ने बताए । केसी मात्रै हैन, एनआरएनलाइ सिन्डिकेटको रुपमा चलाउन खोज्ने समूहलाइ हराएर कडा जवाफ दिइने उनले बताए ।