आरोही निर्मल पूर्जालाई मोना हङकङले १ लाख सहयोग

८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्न आरोहणमा निस्किएका निर्मल पूर्जालाई मोना हङकङले १ लाख सहयोग गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थायी घर भएका पूर्जाको प्रोजेक्ट पोसीबल’ परियोजनालाई मोना हङकङको एक लाख नगद निर्वतमान अध्यक्ष इन्द्रएलजी थापामगरले पूर्जाका दाजु कमलबहादुर पूर्जालाई हस्तान्तरण गरेका छन् ।

सन् २०१९ भित्र सबै १४ वटै हिमालको आरोहण गर्न ब्यक्तिगत तथा विभिन्न च्यारेटी कार्यक्रम मार्फत संकलन भएको आर्थिकले आरोहणमा आवश्यक पर्ने खर्च ब्यवस्थापन गरेको अवस्थामा मोना हङकङले विश्व किर्तिमानीको अभियानबाट उत्साहित भएको भन्दै उक्त सहयोग गरेको जनाएको छ ।

‘म्याग्दीमै रहेका दुई अग्ला हिमाल चढ्ने पहिलो म्याग्देली पनि हो, ‘सहयोग सानो भएपनि उहाँको मिसनको सफलताको कामना गर्दछु’ मोना हङकङका निर्वतमान अध्यक्ष थापामगरले भने । हाल चिनको तिब्वतमा अवस्थित विश्वकै छैठौ अग्लो हिमाल चो आयू शिखरको आरोहण गरेका पूर्जाले नेपालमा रहेको मनास्लु र तिब्वतमै रहेको शिशापाम हिमाल बाँकी छन् ।

सुरुवाती चरणमा करिब ७ लाख ५० हजार पाउन्ड खर्च हुने अनुमान गरिएको परियोजना मौसम सहित विभिन्न कारणले थप लागत बढेको छ । आर्थिक ब्यवस्थापनमा समस्या भएपछि केही दिन यूकेमा समेत पुगेर थप च्यारेटी कार्यक्रममा सहभागिता जनाएका थिए ।

सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भएका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् भने सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त समेत गरेका छन् । उनले ब्यक्तिगत रुपमा मासिक १५ लाखसम्मको तलबसुविधा छोडेर विश्व किर्तिमानी तोड्ने अभियानमा लागेका थिए ।