बेनीमा नाइन–ए साइड फुटबल प्रतियोगिता सुरु

सदरमुकाम बेनीमा मङ्गलबारदेखि नाइन–ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । ‘विकास र शान्तिका लागि युवा नेतृत्व’ भन्ने मूल नारासहित कालीपुल युनाइटेड क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले खेलकुद एउटा महत्वपूर्ण विधा भएकाले यसलाई व्यावसायिक रुपमा अगाडि लैजानुपर्ने बताए ।

उनले खेल र खेलाडी राष्ट्रको गहना भएकाले राज्यले प्राथमिकता दिएको बताउँदै खेलाडीहरुलाई अनुशासनपूर्वक खेल खेलेर दर्शकहरुको मन जित्न आग्रह गरेका छन् । गण्डकी प्रदेशका सदस्य विनोद केसीले खेलकुद क्षेत्रले राष्ट्रलाई चिनाउने भएको हुँदा खेल क्षेत्रको विकास र स्तरोन्नतिका लागि जोड दिइएको बताए ।

कार्यक्रमको उद्घाटनसत्र क्लब अध्यक्ष विकास पुनको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष राजु पुनको स्वागत र सहसचिव सोनिया पुनको सञ्चालनमा सम्पन्न भएको थियो । उद्घाटन खेलमा बौद्ध युवा क्लब मंगलाघाट ‘बि’ले १ का विरुद्ध ३ गोल गर्दै कालीपुल युनाइटेड क्लब ‘सी’लाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा एभरग्रीन ह्वाइट क्लब बेनीले शुन्यका विरुद्ध १ गोल गर्दै युनाइटेड फोर युथ क्लब बागलुङलाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ ।

यसैगरी तेस्रो खेलमा विर गोर्खाली युथ क्लब बागलुङले कालीपुल युनाइटेड क्लब बिलाई ३ का विरुद्ध ५ गोल गर्दै विजयी हासिल गरेको छ । प्रतियोगिताको निर्धारित समयमा दुवै पक्षबाट एकएक गोल बराबर भएपछि पेनाल्टी सुटआउटमार्फत ५ गोल गरेर विर गोर्खाली बागलुङ दोस्रो चरणमा प्रवेश गरेको क्लब अध्यक्ष पुनले जानकारी दिए । आउँदो शनिबारसम्म चल्ने प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङ जिल्लाका गरी कुल १७ टिमले सहभागिता जनाएका छन्।

प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः नगद एकलाख ३५ हजार पाँचसय ५५ र ७५ हजार पाँचसय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र मिडफिल्डरलाई क्रमशः नगद पाँचहजार पाँचसय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्रले पुस्कृत गरिनेछ । सेमीफाइनलबाट बाहिरिने टिमलाई नगद १५ हजार र ट्रफी तथा अनुशासित टिमलाई सातहजार सातसय ७७ रुपैयाँसहित मेडल र प्रमाणपत्र दिइनेछ ।