म्याग्दीमा सेतो पुतलीको आतंक, साँझपख देखिने पुतली निकै घातक (भिडियो)

म्याग्दीमा केहीदिन यता सेतो पुतली देखिन थालेका छन् । म्याग्दीको सदरमुकाम बेनीसँगै ग्रामिण क्षेत्रमा समेत बाख्लै संख्यामा सेतो पुलती देखिन थालेपछि दृष्टिमा असर गर्ने भन्दै मार्ने गरेका छन् । सेतो पुतली देखिने मौसम भएपनि साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक हुने भएको बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज घिमिरेले बताए । ‘यो गण्डकी प्रदेशका जिल्लामा धेरै देखिएको छ,‘पोखरामा गम्भीर असर परेका विरामी भेटिए’ डा. घिमिरेले भने ।

उनका अनुसार अस्पतालमा पुतलीको संक्रमणको असरका कारण बिरामी नआएपनि घर आसपामा देखिएमा सर्तकता अपनाउनुपर्ने बताए । डा. घिमिरेका अनुसार यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जोखिम उच्च रहेको बताए ।

यता धवलागिरी गाउँपालिका ७ ताकम धारापानीस्थीत किसानी माविका शिक्षक विष्णुबहादुर खत्रीले दुईदिनमा चारवटा पुलती मारेको बताए । ‘बिजुलीको बल्वमा आउँछ,‘मार्ने क्रममा रौँ उडेर समेत शरीरमा पर्दा चिलाउँछ’ उनले भने । पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ ।सेतो पुतली उड्दै गर्दा मानव आँखामा ठोकिएमा वा यसका रौँ कुनै कारणवश आँखामा परेमा रोग लाग्न सक्छ । नेपालका अन्य प्रदेशको तुलनामा पुतलीको संक्रमणबाट असर गरेका विरामी गण्डकी प्रदेशमा धेरै रहेको चिकित्सकको भनाई छ ।