गर्विलो इतिहाँस बोकेको एतिहाँसिक ताकम कोतलाई उजिल्याउँदै स्थानीय

विसं १२४६ सालमा प्रथम थापा राजा कालु थापाले स्थापना गरेको ऐतिहाँसिक ताकम राज्य अहिले धौलागिरी गाउँपालिका वडा नं ७ मा पर्दछ ।तत्कालिन समयमा ४ हजार पर्वत भनी मानिएको यो राज्यमा थापाहरूले ३ सय वर्षसम्म शासन गरेका इतिहाँसमा उल्लेख छ ।

१५४५ सालमा कर्णाली प्रदेशका मल्ल राजा आनन्द बम मल्लका नाति डिम्ब बम मल्लले थापाहरूलाई हराई ताकम राज्यलाई आफ्नो राज्यमा मिलाएर साबिक धौलागिरी अञ्चलका सबै जिल्ला समेटिएको विशाल पर्वत राज्यको स्थापना गरेका थिए । त्यो समयमा म्याग्दी जिल्ला पर्वत राज्यको एक भागको रूपमा रहेको थियो । पर्वतमा मल्ल राजाका १४ पुस्ताले शासन गरेका थिए ।

रणबहादुर शाहको राज्य कालमा बहादुर शाहले पाल्पाली राजाको सहयोगमा पर्वतका राजालाई आत्मसमर्पण गर्न लगाई शक्तिशाली पर्वत राज्यलाई नेपालमा गाभेका थिए । एकीकरणपछि र राणा शासनकालमा म्याग्दी पाल्पा प्रशासनअन्र्तगत रहेको थियो । १९८५ सालमा बागलुङमा छोटी गौडा स्थापना भएपछि प्रशासनिक तथा न्यायिक काम बागलुङबाट हँुदै आयो । २०१८ सालमा नेपालको जिल्ला विभाजनको क्रममा म्याग्दी जिल्ला भएको हो ।

म्याग्दी जिल्लाको नामकरणबारे केही प्रसंग जोडिएका छन् । दुर्गा सप्तसतीमा वर्णित जयन्ती मंगलाकाली, भद्रकाली, कपालिनी भन्ने पद्यांशको देवी भगवतीका सय नाममध्ये एक मंगला नामबाट नै नदीको नाम रहेको र कालन्तरमा अपभ्रंश भई म्याग्दी रहन गएको इतिहाँसकारहरुले उल्लेख गरेका छन् ।यस्तो गर्विलो इतिहाँस बोकेको ताकम अहिले पनि उत्तिकै महत्वपूर्ण ठाउँको रुपमा जिल्लामा चिनिन्छ ।

ऐतिहाँसिक,धार्मिक,जैविक र प्राकृतिक सुन्दरताका हिसावलेमात्रै होइन कृषि उत्पादनका क्षेत्रमा पनि ताकम महत्वपूर्ण ठाउँ हो । यस्तो ठाउँलाई उजिल्याएर देश विदेशमा परिचित गराउनका लागि यहाँका स्थानीय वासिले पहल कदमी थालेका छन् ।पश्चिम म्याग्दीको धार्मिक तथा एतिहाँसिकस्थल ताकम कोतमा समुदायकै पहलमा ७० लाखको लागतमा निर्माण भएको कोत मन्दिरमा विभिन्न देवि देवताका २२ ओटा मुर्ति प्रतिष्ठापन गरिएको छ ।

धौलागिरी गाउँपालिका–७ ताकमको शीरमा अवस्थित कोतमा बिहिबार पुजापाठ गरी धार्मिक विधि अनुसार जगन्नाथ, अन्नपूर्ण, शिव, राम, लक्ष्मण सहित विभिन्न २२ भगवनाको मुर्ती प्रतिष्ठापन गरिएको हो । पुरातात्विक महत्वका प्राचीन शैली र एतिहासिक महत्वलाई कायम राख्न ताकम कोतमा स्थानीयको पहलमा संकलन भएको आर्थिकले निर्माण गरिएको मन्दिरमा मुर्ती राखिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष कलानिधि सुबेदीले बताउनुभयो ।

मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी, मन्दिर पूर्ननिर्माण समितिका अध्यक्ष तेजेन्द्र थापा सहित स्थानीयबासी, सरोकारवाला निकायको उपस्थितीमा एतिहाँसिक मुर्तीलाई नयाँ मन्दिरमा स्थानान्तरसँगै पूजाआजा गरिएको थियो । ताकमकोत, जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको मन्दिरमा धवलागिरी र मालिका गाउँपालिकाबाट बर्षेनी पुजाआजा गर्ने गरिन्छ ।

समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ । मन्दिरमा नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ। कोत घरमा तोप, खुँडा, खुकुरी, ढाल, तरबार लगाएतका ऐतिहाँसिक महत्वका हतियार, पुराना साम्रागी रहेका छन् ।

कोतमा सुरुङ्गा छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, मन्दिर मुर्ती लगाएत तत्कालिन समयमा दरवारको सुरक्षामा आवश्यक पर्ने गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाह आकारको ढुंगा लगाएत रहेका छन् ।
मुल मन्दिर निर्माण सकिएपछि बिहीबार धार्मिक बिधी अनुसार जगन्नाथको मुर्ति प्राण प्रतिष्ठा गरिएको छ । पुननिर्माणका लागि मन्दिरका मुर्ति र कोतघरका हतियार नजिकैको सत्तलमा राखिएको थियो ।

बाजागाजा र क्षमापुजा गरेर धार्मिक बिधि अनुसार सत्तलबाट मन्दिरमा मुर्ति सारिएको हो । धारापानी, ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिमका बासिन्दा तथा अगुवाहरुको उपस्थितिमा मुर्ति सारिएको हो । मुर्ति सारिएपछि मन्दिरको मुख्य प्रवेशद्धार तर्फ जाने बाटोमा पर्ने सत्तल भत्काउन लागिएको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो ।

सत्तल तर्फबाट मन्दिर छिर्ने सिढी बनाउन लागिएको हो । कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् । सुरुङ्ग, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, ओदान, मन्दिर, मुर्ती, फलामको छाता, माटाको शंख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुंगा लगायत सामग्री छन् । ताकम कोत म्याग्दीको प्रमुख शक्तिपिठ मानिन्छ ।