मृगौला पीडित सुबेदीलाई यूएईबाट सहयोग

प्रसुति सेवाका क्रममा पिसावमा समस्या देखिएपछि पोखरामा उपचार गराइरहेकी बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुबेदीलाई यूएईबाट ३० हजार १६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । चरम विपन्नताको कारण उपचारमा समस्या भएपछि पुलाचौरका उमेश हमालको संयोजकत्वमा कमल खत्री र मोेना यूएईमार्फत उक्त सहयोग गरिएको निशा बचाउ अभियानका संयोजक नेत्रराज सुबेदीले बताए । उनका अनुसार सहयोग रकमलाई निशाको नाममा ग्लोवल आईएमई बैंकमा रहेको खातामा जम्मा गरिने छ ।

पारिवारिक समस्याका कारण बाल्यकालदेखिनै समस्या भोक्दै आएकी सुबेदीको पिसावमा समस्या देखिएपछि उपचारको क्रममा मृगौलाको डायलासिस, औषधी सेवनमा आर्थिक अभाव भएको समाचार बेनीअनलाइनमार्फत प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ । गत साउन २ गते सुत्केरी भएलगत्तै सिकिस्त भएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

(अभियानका संयोजक नेत्रराज सुबेदी निशाको स्वास्थ्य अवस्था बुझ्न पोखरामा । )सुत्केरी अवस्थामै बेनी अस्पतालबाट रिफर गरिएकी सुबेदीको छोराको समेत अस्पतालमै न्वारन गरिएको थियो । हाल दैनिक ६ सय एमएल पिसाव भइरहेकाले नियमित डायलासेससँगै औषधी सेवन गरी ६ महिनापछि मात्रै आवश्यक परेमा प्रत्यारोपण गर्ने पर्ने चिकित्सकले बताएका छन् । १ हजार एमएल पिसाव भएमा डायलासेस गर्न नपर्ने बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले बताए । सुबेदीको अवस्था सुधार भइरहेको बताउँदै अझै ४ महिना नियमित चिकित्सकको निगरानीमा हुनुपर्ने बताए । उनले अन्तिममा समस्या देखि मृगौला नै प्रत्यारोपण गनुपर्ने बताए ।