रत्नेचौरमा पितृ महोत्सव सुरू

श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि बेनी नगरपालिका–१ रत्नेचौरमा विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सव सुरु भएको छ । शुक्रबारदेखि परम वैदिक सनातन धार्मिक आश्रमको आयोजित महायज्ञको महोत्सवको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेका छन् । उनले धार्मिक तथा पुरातात्कि महत्वका योजनालाई प्राथमिकता दिएको बताए ।

मन्दिरको विकासमा आफुँले बजेटको ब्यवस्थापनका लागि पहल गर्ने बताउदै सदुपयोग र परिचालनमा समुदायको सक्रियता आवश्यकता रहेको बताएका थिए । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, स्वामी चक्रपाणाी रेग्मी, जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष तिलकबहादुर थापा, भानु माविका गोविन्द रिजालले मन्तब्य राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशमा सांसद बिनोद केसी, जिसस प्रमुख देवेन्द्र केसी, सदस्य शेरबहादुर केसी, नेकपा, नेपाली कांग्रेस, राप्रपा, राष्ट्रिय जनमुक्ती पार्टीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । मुल आयोजक समितिका अध्यक्ष नेत्रबहादुर महतको अध्यक्षता, चिरञ्जिवी बोगटीको सञ्चालन र वडा अध्यक्ष तथा समितिका उपाध्यक्ष टेकबहादुर रावलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

महोत्सवको अवसरमा स्थानीयले कलशयात्राले रत्नेचौरमा परिक्रममा गरी मन्दिरमा पुगेका थिए । सोह् श्राद्ध तिथी अवधिभर चल्ने महायज्ञको उद्घाटनको अवसरमा श्रीलक्ष्मीहरि मन्दिरका संरक्षक जीयर स्वामी, ब्यासाचार्य श्रीनारायणाचार्य, डाक्टर चक्रपाणी आचार्य (रेग्मी)को प्रवचन हुने वडा अध्यक्ष टेकबहादुर रावलले बताए । महोत्सवमा यतिराजस्वामी हिमालय वावा र ऋषि प्रपन्नाचार्य स्वामीजीको समेत उपस्थिति हुने आयोजकले जनाएका छन् । छिमेकी जिल्ला बागलुङको पञ्चकोट हुदै आउने भक्तजनलाई रत्नेचौरमा आर्कषित गर्न सकिन्छ ।