मदिरा सेवन गर्नेलाई १० हजार जरिवाना

मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर जाजरकोटको नलगाड नगरपालिकाले मदिरा नियन्त्रण शुरु गरेको छ । नगरपालिकाभित्रका सबै वडामा अवैध रुपमा मदिरा सेवन गर्ने तथा बिक्री वितरण गर्नेलाई रु १० हजार जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ।

एकै व्यक्तिले पटक–पटक मदिरा सेवन तथा बिक्री गरेमा दुबैलाई जरिवाना हुने कार्यविधिमा उल्लेख छ । मदिरा सेवन गरेर होहल्ला गर्नेलाई पहिलो पटक रु एक हजार धेरै पटक गरेमा रु पाँच हजार जरिमाना गर्ने कार्यविधिमा उल्लेख छ ।मदिरा बिक्री वितरणलाई सहयोग गर्नेलाई समेत जरिवाना गरिने भएको छ ।

इजाजत नलिएर मदिरा बिक्री वितरण गरेमा पहिलोपटक रु तीन हजार र पटक–पटक गरेमा रु पाँच हजारका दरले कारवाही गरिने बताइएको छ । अठार वर्ष नपुगेको व्यक्तिले मदिरा सेवन तथा बिक्री गरेमा रु दुई हजारदेखि पाँच हजारसम्म जरिमाना गर्ने व्यवस्था रहेको छ ।सार्वजनिक पद धारण गरेको व्यक्तिले सेवन गरेमा सर्वसाधारण भन्दा दोब्बर जरिवाना गरिने भएको छ । मदिरा सेवन तथा बिक्री वितरण गरेको सूचना दिनलाई बिगो अर्थात सजायको १० प्रतिशत रकम बढाएर पुरस्कार दिइने कार्यविधिमा उल्लेख छ ।