मोनाको वडा तथा खुल्ला भलिबल प्रतियोगिता गरिने, फाइनल घोरेपानीमा हुने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको आयोजनामा जिल्लास्तरीय अन्तर वडा पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ । ‘सु–सम्बन्ध,आत्मियता र सहकार्यको मेल, स्वास्थ्य, अनुशासन र सभ्यताका लागि खेल’ भन्ने मुल नाराका साथ असोज ११ देखि १६ गतेसम्म प्रतियोगिता हुने मोना अन्तराष्ट्रियका उपाध्यक्ष एवम् खेलकुद संयोजक योगकुमार फगामीले बताए ।

‘प्रतियोगिताको तयारी सुरु भएको छ,‘मोनाले खेलकुदलाई समेत प्रोत्साहन गर्ने प्रयास गरेको छौ’ फगामीले भने। उनका अनुसार प्रतियोगिताको उद्घाटन सहितका सेमिफाइनल खेल खुल्लामञ्चमा हुने भएपनि फाइनल खेल तेस्रो महाधिवेशनस्थल घोरेपानीमा हुने बताए । फाईनल असोज १६ गते घोरेपानीमा हुने छ ।

स्वास्थ्य, सामाजिक, मानवीय सेवा, पर्यटकीय तथा शैक्षिक क्षेत्रमा सक्रिय रहेको मोनाले पहिलोपटक आफ्नै आयोजनामा जिल्लामा रहेका भलिबल खेलाडीलाई प्रोत्साहन गर्ने गरी प्रतियोगिताको आयोजना गरेको संस्थाका कोषाध्यक्ष राम खड्काले बताए ।उनका अनुसार प्रतियोगितामा महिलातर्फ खुल्ला हुने भएकाले पनि बाहिरी जिल्लाबाट समेत खेलाडी आउने सम्भावना रहेको बताए । विश्वभर रहेका राष्ट्रिय कार्यकारी समितिको चाहना अनुसार नै प्रतियोगिता राखिएको मोना सचिवालयले जनाएको छ ।

प्रतियोगितामा वडास्तरीय पप्रथम ८० हजार, द्धितिय ५० हजार रहेको छ। त्यस्तै खुल्ल महिला भलिबल तर्फ ५० हजार प्रथम, ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको रेफ्री संयोजक भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले बताए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर,उत्कृष्ट स्पाईकर र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने छ । म्याग्दीका सबै स्थानीय तहमार्फत वडामा पत्रचारसँगै प्रचारप्रसारलाई समेत तिब्रता दिइएको छ ।