म्याग्दी क्याम्पस अन्तराष्ट्रियस्तरको गुणस्तर प्राप्तीको नजिक

म्याग्दी बहुमुखी क्याम्पसले अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्तीको नजिक पुगेको छ । विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तीका लागि तयार गरिएका १ सय २० सूचकमा क्याम्पसले पुरा गरेपछि आगामी असोज १ गते देखि समकक्षी परिक्षण भ्रमण हुने बताइएको छ ।

क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा क्यूएए प्राप्तीका लागि तय गरिएका सूचक कार्यान्वयनका विभिन्न चरण पार गरेपछि अन्तिम स्थलगत अनुगमनका लागि टोली आउन लागेको सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले बताउनुभयो । ‘कठोर प्रयासपछि नतिजा प्राप्तीको चरणमा छौ,‘अनुगमनमा धेरै विषयमा छलफल हुन्छ’ सुबेदीले भने ।

१२० सूचकलाई १ सय अकंमा मापन गरिने भएकाले क्याम्पसले ५० अंक प्राप्त गरेमा ५ बर्षका लागि गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्ने जनाइएको छ । नेपालमा हालसम्म जम्मा ३६ वटा क्याम्पसले क्यूएए मान्यता प्राप्त गरेका छन भने साविकको धौलागिरी अञ्चलमा म्याग्दीले प्राप्त गरेमा पहिलो हुने छ ।

हालसम्म क्याम्पसले आयोगले तोकेका ८ क्षेत्र र त्यस अन्तरगतका सूचकका आधारम स्व– समिक्षा सहित आधा दर्जन प्रतिवेदन तयार, पुस्तकालयमा बारकोड रिडर, पुस्तक, फर्निचर खरिद, खेलकुद मैदान निर्माण, भवनको मर्मत, पाठयोजना निर्माण, सभाहल निर्माण, आन्तरिक गुणस्तर समुहमार्फत विभिन्न गतिविधि लगाएत विभिन्न योेजनाहरूमा काम गरेको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो ।

असोज १ देखि ५ गतेसम्म स्थलगत हुने अनुगमनमा प्रा.डा. बासुदेव काफ्लेको नेतृत्वमा विज्ञ प्रा.डा. पंकज कुमार नटवारललाल गञ्जारा लगाएतको ५ सदस्यीय टोलीले गुणस्तर परिक्षण गर्नेछन् । पत्रकार सम्मेलनमा पुर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, सञ्चालक समितिका उपाध्यक्ष सोमनाथ ढुंगाना, सहायक क्याम्पस प्रमुखद्धय श्रीधर सुबेदी, पशुपति ढकाल,क्यूएए फोकल पर्सन गोरखनाथ जिसी, प्राध्यापक संघका अध्यक्ष नारायण सुबेदी,पूर्व विद्यार्थी संघका अध्यक्ष बिमल रिजाल, स्ववियू कार्यवाहक सभापति इश्वर सुबेदी, पत्रकार महासंघ म्याग्दीका सभापति तारानाथ शर्मा लगाएतको उपस्थिती रहेको थियो । क्याम्पसमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् ।