विद्यार्थीले पढ्दा पढ्दै विद्यालय भत्कियो : कक्षाका विद्यार्थी भागाभाग

पश्चिम म्याग्दीका मालिका गाउँपालिका वडा नं ४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीहरुको भागाभाग भएको छ । मंगलबार (आज) दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालय ओखरबोटको पुरानो विद्यालय भवन भत्किएको हो ।दिउँसो अचानक कक्षा ६ को कक्षाकोठाको गाह्रो (पर्खाल) भत्किए पछि पढ्दै गरेका विद्यार्थीहरुको भागाभाग भएको विद्यालयका प्रधानाध्यापक नविन कार्कीले जानकारी दिनुभयो ।

विद्यालय भवनको तल्लो पट्टि पहिरो गएका कारण भवन भास्सिएको र जुनसुकै बेला पुरै भवन भत्कन सक्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीहरुलाई कक्षा १ को कक्षा कोठामा र कक्षा १ लाई बाल कक्षामा राखेर पढाइएको उहाँले जानकारी दिनुभयो ।