श्रीमतिले आत्हत्या गरेपछि पीडा सहन नसकेर श्रीमानले पनि आत्महत्या

ओखलढुंगामा पत्नी बियोगको पीडा सहन नसकेर एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदौरेका २२ बर्षीय नबिन परियारले आइतबार आत्महत्या गरेका हुन् । खोटाङको रावाबेसी गाउँपालिका–२ माइती भई गत जेठ महिनाको अन्तिम साता वैवाहिक बन्धनमा बाँधिएकी २१ वर्षीया श्रीमती गंगा परियारले गत भदौ ४ गते माइतीमै झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनले एसईईको मौका परीक्षा दिन माइती गएको समयमा उतै झुन्डिएर आत्महत्या गरेकी पारिवारिक श्रोतलाई उद्धृत गर्दै भदौरे–६ का वडा अध्यक्ष कृष्ण बहादुर केप्छाकी मगरले बताए ।

उनीहरु वैवाहिक बन्धनमा बाँधिएपछि गंगा घरमा बस्दै आएकी थिइन् भने नविन कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । तर, श्रीमती परीक्षा दिन माइती जाने भएपछि नविन घर आएका थिए । परीक्षा सकेको २ दिन पनि नबित्दै श्रीमतीले आत्महत्या गरेपछि नविन बिछिप्त बनेका थिए ।

गंगाले आत्माहत्या गर्नुको कारण नखुलेपनि नविनले भने पत्नी बियोगमा आत्महत्या गरेको पुष्टि भएको छ । घर नजिकै रहेको रुखमा सलको पासो लगाएर आत्महत्या गरेका नबिनले आत्महत्या गर्नुअघि श्रीमतीको नाममा लेखेको चिठ्ठीसमेत फेला परेका छ । चिठ्ठीमा उनले ‘ प्यारी श्रीमती ! तिमी म भन्दा अगाडि गयौ । म पनि तिम्रो पछिपछि आउदैछु । यो कदम मैले कसैको करकापले लिएर हैन ।’ लेखेका छन् । दुईभाई छोरा रहेको परिवारमा कान्छो छोरा–बुहारी दुबैले आत्महत्या गरेपछि परिवार बिछिप्त बनेको छ । आत्महत्यापछि नविनको शबलाई पोष्टमार्टम पश्चात दाहासंस्कार गरिएको परिवारिक श्रोतले जनाएको छ । news24nepal.tv