डेंगुले त्रास फैलाइरहँदा आत्तिनु नपर्ने चिकित्सकको आग्रह

डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन्। डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए । डा. पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए ।उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८-१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा. पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए ।

डेंगुको प्रकोप फैलिँदै गए पनि सरकारले भने रोकथामको लागि प्रभावकारी उपाय अवलम्बन गर्न सकेको छैन । सरकारले नियन्त्रणका लागि बजेट छुट्याए पनि सो रकम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । रोकथामका लागि सरकारले १० करोड मात्रै विनियोजन गरेको छ जुन निकै न्यून हो । याे खबर आजकाे राजधानी दैनिकमा छ ।