मादक पदार्थ सेवनगरी कुटपिट गर्दा एकको मृत्यु, तीनजना प्रहरी नियन्त्रणमा

म्याग्दीको मालिका गाउँपालिका–२ रुम खवाङ गाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । भदौ १९ गते राती मदिरा सेवन गरेका तीनजना यूवाले कुटपिट गर्दा ४७ बर्षिय मोतिप्रसाद दर्जीको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ । कुटपिट गर्ने रूमकै २६ वर्षीय उमेरका नेत्र बुढा, ओमकार बुढा र नविन पुनले रहेको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बेनीअनलाइनलाई बताए । ‘घरमै सुतेको अवस्थामा कुटपिट गरेका थिए,‘घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ’ प्रनाउ मरासिनीले भने ।

घटनाका बारेमा जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बावियाचौरबाट गएको टोलीले गाउँबाटै तीनै जनालाई पक्राउ गरेको जनाइएको छ । मादक पदार्थ सेवन गरी लठ्ठ परेका अभियुक्तले घरेलु हतियार, हात र लात्तिले प्रहार गर्दा अचेत भएका मृतकको दाहिने कोखा र टाउकोको देव्रे भागमा रगत जमेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका दर्जीको उपचारका लागि पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले हत्यामा संलग्नलाई कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

राजनीतिक पहुँचमा घटना लुकाउने प्रयास
रुममा आर्थिक तथा राजनीतिक पहुँचमा दलितमाथी भएको कुटपिटको घटना लुकाउने प्रयास गरेको देखिएको छ । गाउँमा गुण्डाशैलीमा धम्काउने गरेका यूवाले सुतिरहेको अवस्थामा घरमै गएर कुटपिट गरेको घटनालाई आर्थिक लेनदेनमा गाउँमै सहमतिको प्रयास गरेपनि दर्जीको उपचारको क्रममा मृत्यु भएपछि घटना सार्वजनिक भएको थियो । स्थानीयले कुटपिटको घटनालाई समेत सार्वजनिक गर्न सकेका थिएनन् ।

घटनालाई सार्वजनिक नगर्न पीडित परिवारलाई समेत अघोषित घम्की दिइएको स्रोतले जनाएको छ । १९ गते राती कुटपिट गरेको घटना२० गते दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि बेनी अस्पताल हुदै पोखरा लगिएको थियो। घटनालाई दवाउने प्रयास गरिएकाले समयमै दर्जीको उपचार हुन नसकेको देखिन्छ ।

घटना भएकै राती उपचारका लागि ल्याउन नसक्नु, समयमै पोखरासम्म लैजान नसक्दा टाउकोमा रगत जमेर मृत्यु भएको हुनसक्ने प्रारम्भीक अनुन्धानले देखाएको छ । पोखरामा उपचारको क्रममा दर्जी अचेत थिए । उपचारको क्रममा मृत्यु भएका दर्जीको आज दरबाङमा अन्त्येष्टी गरिदैछ । घटनामा संलग्न ओमकार वडा सदस्य हिरा बुढाका छोरा हुन् । वडा सदस्य बुढाले नै लेनदेन तथा आथिैक प्रलोभन देखाएपछि सामाजिक सञ्जालमार्फत आक्रोश पोख्न थालिएपछि घटना सार्वजनिक भएको थियो ।